नेपालमा लकडाउनको एक वर्ष पुरा अबस्थामा कति सुधार ?


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं : नेपालमा कोरोना महामारीका कारण सरकारले लकडाउन शुरु गरेको आज एक वर्ष पूरा भएको छ ।

गत वर्ष नेपाल सरकारले आजकै दिन अर्थात् चैत ११ गते रातिदेखि लागू हुनेगरी भन्दै शुरुमा एक हप्ताका लागि लकडाउनको घोषणा गरेको थियो ।
तर सरकारले एक हप्ताका लागि घोषणा गरेको सो लकडाउन पछि देशव्यापी रुपमा गरियो र महिनौँ दिनसम्म गयो । पहिलो चरणको कडा खालको लकडाउन साउन ६ गतेसम्म लागू भएको भए पनि त्यसपछिका समयमा पनि देशव्यापी र आंशिक रुपमा गरी छ महिनाभन्दा लामो समयसम्म विभिन्न खाले प्रतिबन्धहरु कायमै राखिएको थियो ।

जब बेलायत र अमेरिकाजस्ता देशमा दिनमै सयौँ मानिस यो महामारीबाट मृत्यु हुनु थाल्यो त्यसपछि भने हाम्रो होस हवास नै उड्न थालेको थियो । किनभने हामीकहाँ सरकार, सरकारका प्रतिनिधि, चिकित्सक एवं स्वयं मिडियाले नै प्रचार गर्दा बेलायत र अमेरिकाजस्ता विश्वका धनी तथा सुविधासम्पन्न देशमा त नागरिकले उपचार नपाएर ज्यान जाने अवस्था छ भने हामी नेपाली कसरी बाचौँला भनेर नै प्रचार गर्न थालियो । यसले हामीलाई बढी त्रासमा ल्यायो ।

नागरिकलाई शुरुमा निकै त्रास थियो । विश्वमा यो महामारीको त्रासको बडो डरलाग्दोगरी प्रचार गरिएको थियो । चीनमा दिनहूँ सयौँ नागरिकको ज्यान जाने गरेको थियो । यो महामारीको ठूलो प्रकोप इटाली र स्पेनमा देखिएको थियो । विस्तारै यसले युरोपका धेरै देशहरुलाई आक्रान्त बनाउँदै बेलायत र अमेरिका पुग्यो ।

अझ बढी त्रास त हामीलाई भारतका कारणले आयो । पछि यो महामारी विश्वको दोस्रो ठूलो जनसंख्या भएको देश भारतमा कोरोना भाइरसको महामारी छिरेपछि अरु देशको तुलनामा झन् बढी भद्रगोल भयो । महाराष्ट्र र दिल्लीका अस्पताल भरिभराउ भए भने दिनमा हजारौँ संक्रमित भेटिन थाले भने सयौँको ज्यान जान थाल्यो ।

नेपाल भारतसँग भौगोलिक रुपमा जोडिएको तर धेरै हिसाबले नजिक देश । हामीलाई अब युरोप अमेरिकाभन्दा पनि भारत बढी दुख्न थाल्यो । यसले बढी त्रास हामीलाई दिन थाल्यो । अस्पतालका बेड नै अभाव, आइसियुनै अभाव हुने अवस्था त हामीकहाँ आएन, तर पनि यहाँ पनि दिनमा कम्तीमा २९ जनासम्मको ज्यान जाने र दिनमा ७ हजार जना जति संक्रमित हुने अवस्थासम्म आयो ।

हामी पनि यसबाट आक्रान्त बन्न थाल्यौँ । भारतबाट नै हामीलाई बढी खतरा भयो । भारतबाट ज्यान जोगाउन नेपाली नागरिक घर आउन थाले । तराई, पश्चिम नेपाल र पूर्वी नाकाहरुमा भारतबाट आएका नेपाली नागरिकको भिड लाग्न थाल्यो । रोकौँ– आफ्ना नागरिकलाई घार आउन खोज्दा सीमामा कसरी रोकेर कति दिन राखौँ, स्वदेश छिर्न दिउँ– संक्रमण बोकेर ल्याइरहेका छन् ।

हो, यस्तै समस्या अहिले पनि देखिएको छ । अहिले पनि भारतमा दिन प्रतिदिन महामारीको जोखिम बढ्न थालेको छ । भारतमा दोस्रो लहर आएको बताइएको छ । एक पटक दिनमा ४,५ हजार मात्र संक्रमण भेटिने र कुनै दिन मत्यु नै नभएको अवस्थामा पुगेको भारतमा अहिले फेरि दिनहुँ पचास हजार जनामा संक्रमण भेटिएको छ भने सयभन्दा बढीको ज्यान जान थालेको छ ।

यता नेपालमा पनि यसका संक्रमितहरु बढ्न थालेका छन् । दिनमा ५०÷६० जनामात्र भेटिने अवस्थामा पुगेकोमा अहिले भने यसका संक्रमित बढ्दै छन् । हिजो मंगलबार मात्रको अवस्था हेर्दा पनि ४ हजार जनाको पिसिआर परीक्षणमा १८८ जनामा यो संक्रमण भेटिएको छ ।
देशव्यापी रुपमा मानौँ कि कोरोना उन्मूलन भएजस्तो नागरिक व्यवहार छ । मानिसहरु मास्क लगाउन छोडिसकेका छन् । जनस्वास्थ्यका मापदण्डहरु पालना हुदैन । देशमा राजनीतिक अवस्था बिग्रिएसँगै सभा सम्मेलन जलुश आदि निस्किने क्रम जारी नै छ । केही हप्ता अघिसम्म त कुन पार्टीका कति धेरै मानिस भनेर प्रतिस्पर्धामा जुलुश निकाल्ने गरिएको थियो ।

नेपाल सरकारले हालै कोरोनाको जोखिम बढेको भनेर सतर्कता अपनाउन भनेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा।जागेश्वर गौतमले सभा, जुलुश भेला नगर्न र जनस्वास्थ्यका मापदण्ड अपनाउन भन्दै विज्ञप्ति प्रकाशन गर्नुभएको छ । दिन प्रतिदिन कोरोनाका संक्रमितहरु बढ्दै गएकोले अब फेरि नेपालमा पनि दोस्रो लहरको त्रास बढ्दैछ ।

हिजो मंगलबार सरकारले देशभरका जिल्ला प्रशासन कार्यालयहरुलाई क्वारेन्टिन र आइसोलेसनको अवस्था के कस्तो छ लेखी पठाउनु भनी पत्राचार पनि गरेको छ । उता भारतले होली पर्व मनाउन प्रतिबन्ध लगाएजस्तै यता नेपालमा पनि त्यो अवस्थाको तयारी भएको बुझिएको छ । हुनत नेपालमा खोप लगाउने काम शुरु भएको छ, तर यो पूर्ण भएको छैन ।

त्यसैले पनि अब थप सतर्कता अपनाउनुपर्ने देखिएको छ । पछिल्लो समयमा भारतमा बढ्दो संक्रमणका कारण हामीलाई प्रभाव पार्ने स्पष्ट देखिएको जनस्वास्थ्यविद्हरु बताउने गरेका छन् । उनीहरुका अनुसार यसअघि जस्तै पछिल्लो समयमा पनि नेपालमा यो संक्रमण भित्रिने त्रास रहेकोले सबैले सतर्कता अपनाउनुपर्ने देखिन्छ ।

संयोग गतवर्ष नेपालमा लकडाउन शुरु भएकै दिन अहिले पनि सरकारले आजबाट यस विषयमा थप तयारी र सतर्कताका काम थाल्ने देखिएको छ ।


सम्बन्धित खवर

अन्तर्वार्ता