उमा नेपाल नयाँ भएपनि प्रचलन पुरानै देखिएको छ, युवा कवि उमा सिँहको कविता


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

कविता

उमा सिँह

उमा मरेर
तिमी जत्तिकै चर्चित भईन्छ भने
तिम्रो मृत्युु
पीडित जीवन बाँच्नेहरूलाई
एउटा दरिलो लक्ष्य हुन सक्छ ।
बाँचुन्जेल
आशाको बलौटे हुरी भित्र
अर्थहीन न्यायको भरोसा
बाबू र दाजुको हत्यारा खोज्ने
तिम्रो न्यायिक मागलाई
स्याल हुँईया देख्नेहरू
तिम्रो हत्या पछि
गोहीको आँसु बगाउन
तिमी संगको परिचय क्षण सम्झदैं
पत्रिकामा विज्ञापन भर्न

प्रभातफेरी मार्फत
टि।भी। मा अनुहार देखाउन
हूलका हूल
तिम्रो कथित समर्थकहरू
जुलुसमा देखिएका छन ।

उमा !
नेपाल नयाँ भएपनि
प्रचलन पुरानै देखिएको छ ।
उपचारको अभावमा
मृत्युवरण गर्न पुगेकी पारिजात
भूगोलमा सीमारेखा कोरेर
परदेशी ठानिएको हरिभक्त
मरेपछि सम्मानित भए झैं
बाँचुन्जेल अभाव ग्रस्त
दुस्ख र पीडाको महासमुन्दमा
रक्तमुच्छेल भएकी तिमी
पिता र दाजुको हत्यारा खोज्न
सहयोग नपाएकी तिमी
दुर्भाग्यवश मरेर
चर्चाको सगरमाथा चुमेकी छौं ।
तिम्रो लासमा
राजनीति गर्नेहरूले
तिम्रो आत्मविस्वास बेचेर
ईतिहासलाई व्याङ्ग्य

अतिशयोक्ति बनाउदैछन् ।
तिम्रो नाम संग नाम जोडेर
अभ्यस्त र आत्मबोधले
लसुनलाई सुनमा
रूपान्तरण गर्न खोज्दैछन ।

उमा !
सद्दाम र यिदी अमीनलाई
कूलदेवता ठानिने यो युगमा
हतियार नै अहिंसाको
पयार्यवाची ठानिने यो बेलामा
तिम्रो गान्धीवादी अभियान
तिम्रो कलमको नीव
यति शक्तिशाली भैदियो कि
निरो हरू संग प्रतिरक्षा क्षमता नै भएन
उनिहरू विकल्पहीन
विकल्पमा थिए ।
गुणगान र भजनमात्र
खोज्ने यो जमनामा
झुट( मूट र षड्यन्त्र रोज्ने
यो मौसममा
तिम्रो प्रमाण सहितको आलोचना
उनीहरूको पतनको पदचाप थियोे ।
सत्य, सत्य र सिर्फ सत्य
तिम्रो ठुलो अपराध थियौं ।
समाज रूपान्तरण, महिला मुक्ति
तिम्रो अभियान
जघन्य पाप थियो ।
त्यसैले तिम्रो मृत्यु अपरिहार्य थियो ।

उमा !
मरेर तिमी जत्तिकै चर्चित भईन्छ भने
तिम्रो मृत्यु
सत्यका भोकाहरूलाई
एउटा दरिलो रहर हुन सक्छ ।


सम्बन्धित खवर

अन्तर्वार्ता