
काठमाडौं । दिवंगत नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको शनिबार अन्त्येष्टि गरिएको छ । मस्तिष्कघातका कारण शुक्रबार राति नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा निधन भएका नेता जोशीको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो । स्वर्गीय जोशीको पार्थिव शरीरमा उनका दाजु राजुराज जोशी र भतिजा सौरभ जोशीले दागवत्ती दिएका थिए ।
अन्त्येष्टिपूर्व नेता जोशीको शवलाई श्रद्धाञ्जलीका लागि उनको निवास याख्याटोल र कांग्रेस केन्द्रीय कार्यालय सानेपामा राखिएको थियो । सानेपामा जोशीको पार्थिव शरीरलाई कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गरेका थिए
स्वर्गीय जोशीको शवलाई श्रद्धाञ्जली दिन सभामुख अग्निप्रसाद सापकोटा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एमालेका नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, एमाले नेता सुवासचन्द्र नेम्वाङ, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलगायत कांग्रेस पार्टी कार्यालय सानेपा पुगेका थिए ।
२०१९ साल असार ३ गते काठमाडौंमा जन्मिएका नेता जोशी नेपाल विद्यार्थी संघको पूर्वमहामन्त्री, काठमाडौं महानगरपालिकाको पूर्वउपमेयर, २०६४ र २०७० सालमा काठमाडौं क्षेत्र नम्बर ८ बाट संविधानसभाको निर्वाचनमा निर्वाचित भएका थिए ।
मस्तिष्कघात हुनुभन्दा पहिले जोशी आफ्नो निर्वाचन क्षेत्रको घरघरमा पुगेर कोरोना संक्रमण नियन्त्रणका सामग्री वितरण गर्दै आएका थिए । २०७३ सालमा उद्योगमन्त्री बनेका नेता जोशी नेपाली कांग्रेसको १२ औं र १३औं महाधिवेशनमा निर्वाचित केन्द्रीय सदस्य बनेका थिए । स्वर्गीय जोशीका श्रीमती र एक छोरी छन् ।