
काठमाडौं: सवारी चालक अनुमति पत्रको मापदण्ड परिवर्तन हुने भएको छ।
मापदण्ड परिवर्तन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट सैद्धान्तिक सहमति प्राप्त भएको यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले जानकारी दिए।
उनका अनुसार कार्यविधि संशोधनको ड्राफ्ट तयार भई स्वीकृतको प्रक्रियामा छ।
विभागले पुसमा कार्यविधि संशोधन गर्न मन्त्रालयलाई प्रस्ताव पेश गरेको थियो।
‘हामीलाई मन्त्रालयबाट सैद्धान्तिक सहमति प्राप्त भएको छ। अब कार्यविधि संशोधन गर्छौं,’ उनले भने।
कार्यविधि संशोधन भएपछि सानो गल्तीले ट्रायल फेल नहुने विभागका महानिर्देशक घिमिरेले बताए।
‘पहिले ट्रायल पास वा फेल मोडल थियो। अब पास वा न्युमेरिकल भ्यालुबाट मुल्यांकन हुन्छ,’ उनले भने। अहिलेसम्म ट्राफिकले सिट्ठी फुकेर बोलाएपछि ट्रायल दिन गइन्थ्यो भने अब सवारी साधन चलाउनुभन्दा अगाडि के–के कुरामा ध्यान दिनुपर्छ त्यो पनि हेरिने उनले बताए।
उनका अनुसार सुरूमा सबैलाई १ सय अंक नै दिइन्छ। त्यसपछि गल्ती गर्दा नम्बर काटिंदै जान्छ। ६० प्रतिशतभन्दा कम अंक ल्याउने ट्रायल फेल हुन्छ भने सो सम्मको अंक ल्याउने ट्रायल पास हुन्छ।
राम्रोसँग सवारीसाधन चलाउन जान्नेहरू पनि सामान्य गल्तीमा फेल हुँदा बिचौलियाकहा जाने समस्या देखिएकाले यसप्रकारको मापदण्ड ल्याउन लागिएको उनले बताए।
उनका अनुसार ट्रायलका विभिन्न चरण अंकका आधारमा पास–फेल निधो गरिनेछ।
ट्रायल सुरूवातकै ‘एट (८)’ मा छिरेदेखि ट्रायल पूरा गरेर ननिस्किउञ्जेलसम्म विभिन्न प्यारामिटरमा अंक बाँडिनेछ।
‘अहिले हेल्मेटको लक नलगाए पनि ट्रायल फेल हुने नियम छ। अब भने त्यसमा पनि निश्चित अंक पाउनेछन्। त्यस्तै ८ कटाएको निश्चित अंक हुनेछ। यस्तै–यस्तै विभिन्न प्यारामिटर हुनेछन्,’ उनले भने।
ट्रायलका सानातिना कडा नियम अलि खुकुलो बनाउन लागिएको उनको भनाइ छ।
त्यस्तै, लिखित परीक्षाको ढाँचा पनि केही परिवर्तन हुने उनले बताए।
’५ सय वा एक हजार प्रश्नका सेट हामी सुरूमै सार्वजनिक गर्नेछौं। प्रश्न त्यहीँ भित्रबाट मात्रै सोधिनेछन्,’ उनले भने, ‘तर यो तत्काल लागू हुँदैन। छलफलकै चरणमा छ। केही समय लाग्छ।