०९ भाद्र ,काठमाडौं । निर्वाचन आयोगले नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)ले राजनीतिक दलको मान्यता पाएका छन् । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी र महन्थ ठाकुर नेतृत्वको लोसपाले दलको मान्यता पाएको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए । सरकारले जारी गरेको राजनीतिक दल सम्बन्धी अध्यादेशको सुविधा प्रयोग गरेर माधव नेपाल र महन्थ ठाकुरले नयाँ दल गठन गरेका हुन् ।

यस्तै जनता समाजवादी पार्टी (जसपा) विभाजन गरी लोसपा दर्ताका लागि नेताहरुले दिएको निवेदनमा पनि निर्वाचन आयोगले बुधबार नै सांसद र केन्द्रीय सदस्यहरुलाई सनाखत गर्न बोलाएको थियो । नयाँ दल दर्ताका लागि जसपाका ५१ सदस्यीय कार्यकारिणी समितिका १७ जनाले सनाखत गरेका छन् । यो कुल सदस्य सङ्ख्याको ३३ प्रतिशत हो ।

राष्ट्रियसभाका तीन र प्रतिनिधिसभाका ३४ गरी ३७ सांसदमध्ये १५ जनाले सनाखत गरेका छन् । यो कुल सदस्य सङ्ख्या ४० प्रतिशत हुन आउछ । निर्वाचन आयोगले नयाँ गठन हुने लागेका दुवै दलका सांसद र केन्द्रीय सदस्यहरूलाई सनाखतका लागि बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्मको समय दिएको थियो ।
निर्धारित समयमा दुवै दलका केन्द्रीय सदस्य र संघीय सांसदको सनाखत गरेका थिए । त्यसपछि बसेको आयोगका पदाधिकारी बैठकले एकीकृत समाजवादी र लोसपालाई दलको मान्यता दिने निर्णय गरेको हो ।
योसँगै नेपालमा राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलको संख्या ६ पुगेको छ । एमाले माओवादी र समाजवादी राजपाबीच एकता भएपछि राष्ट्रिय मान्यता प्राप्त दलको संख्या तीनमा झरेको थियो । तर, एमाले माओवादीको एकता खारेजी, एमाले र जसपा विभाजन भएपछि राष्ट्रिय मान्यता प्राप्त दलको संख्या ६ पुगेको हो । जसमा नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र लोसपा रहेका छन् ।