_20210723005801.jpg)
२० भदौ २०७८ काठमाडौं : एमाले अध्यक्ष केपी ओलीले आफूले सुरुवात गरेका विकास निर्माणका काम रोक्न वर्तमान सरकार लागेको आरोप लगाएका छन्।
काठमाडौं महानगरस्तरीय भेलामा शनिबार बोल्दै ओलीले आफूले सुरुवात गरेका विकास निर्माण रोकेर विकास विरोधी काममा सरकार लागेको आरोप लगाए। ‘यो सरकारले कुनै रचनात्मक काम गर्ने सक्दैन, बरु बिगार्छ, भत्काउने हो,’ ओलीले भने। सरकारलाई विकास विरोधी बताउँदै उनले भने, ‘भक्तपुरमा राति क्रेन लगेर मूर्तिको घाँटी मर्काएका थिए नि एक पटक। तपाईंहरू नहुने हो भने धरहराको पनि यसरी घाँटी मर्काउँछन् यिनीहरूले। रानीपोखरीमा ढुंगा हान्न सक्छन्।’
हुँदै नभएको चीनसँग सीमा विवाद
चीनसँग हुँदै नभएको सीमा विवादलाई झिकेर सरकारले दुई देशबीचको सम्बन्ध तनावग्रस्त बनाउन लागेको ओलीले आरोप लगाए। ‘कसलाई खुसी पार्नका लागि चीनसँग सीमा विवाद छ भनेर समिति बनाउन पर्यो रे ? ओलीले प्रश्न गर्दै भने, ‘यो सरकारलाई चुनौती दिन चाहन्छु, यो समितिले कुनै ठाउँ सीमा विवाद देखाओस्।’
झुक्याएर एमसीसी पारित गर्न सक्छन्
ओलीले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)मा सरकारको नीतिबारे प्रश्न गरे। एमसीसी झुक्याएर पास गर्न लागिएको ओलीको आरोप थियो। ‘यिनै कांग्रेस र माओवादी होइनन् हिजो एमसीसी सम्झौतामा हस्ताक्षर गर्ने ? ओलीले प्रश्न गरे,‘ अहिले किन बोल्दैनन् ? झुक्याएर पास गर्न खोजेको ? के गर्ने हो बोल्दैनन्, भन्दैनन्।’ सम्झौता गर्नेले एमसीसीबारे मौन बस्न नमिल्ने ओलीको भनाइ थियो। ‘शेरबहादुर देउवाजीले भन्नुपर्दैन एमसीसी के गर्ने ? अनि प्रचण्डजीले बोल्नु पर्दैन एमसीसी के गर्ने भन्नुपर्दैन हिजो हस्ताक्षर गर्नुभएको थियो त। उहाँहरू चुपचाप हुनुहुन्छ,’ ओलीले भने।
माधव नेपाल शरम पचेको मान्छे
एमाले छाडेर नेकपा (एकीकृत समाजवादी) गठन गरेका माधवकुमार नेपालप्रति ओली सबैभन्दा बढी आक्रमक देखिएका थिए। ‘अस्तिसम्म जुन खाटमा बसेका थिए अहिले त्यो भाँचेको भाँच्यै छ, ओलीले भने, ‘जुन पिर्कामा बसेको छ त्यो भाँचेको छ। हिजो जुन मन्दिर बनायो त्यसमा थुकेको थुक्यै छ। माधव नेपाल जस्तो शरम पचेको मान्छे मैले अहिलेसम्म कतै देखेको छैन।’
नेपालले कांग्रेसको एस पार्टी बनाएको भन्दै ओलीले ब्याग्य गरे। ‘हाम्रा घरका बिरालाहरू शेरबहादुर देउवाको घरमा देखिन्छन्। दूधभात खान पाइन्छ भनेर म्याउ गरेर गएछन्, ओलीले कटाक्ष गरे।
ओलीले माधव नेपालले विगतमा प्रधानमन्त्री हुन राजालाई दाम चडाएको विषयमा कुरा उठाए। ‘सुन्दा पनि बेइज्जत, कहिले ‘प्रधानमन्त्री हुन पाइन्छ कि भनेर वरिपरि परिक्रमा गरेर दाम चढाएर पनि ढोगेको छ, उनले माधव नेपालप्रति इंगित गर्दै भने, कहिले हुलाकबाट निवेदन पठाएजस्तो पत्र मञ्जुषामा प्रधानमन्त्री हुन पाउँ भन्ने निवेदन पनि हालेको छ।’
वामदेवप्रति पनि कटाक्ष
ओलीले वामदेव गौतमको नाम नलिई आलोचना गरे। गौतमप्रति लक्षित गर्दै भने, ‘उता उपप्रधानमन्त्री हुन पाउँ भने हुन्छ नि, ओलीले गौतमप्रति कटाक्ष गरे,‘ केपी शर्मा ओलीलाई किन गाली गर्ने ?’
अन्नपूर्ण पोष्टमा खबर छ ।