
काठमाडौं : नेपाल बार एशोसिएसनका पदाधिकारीले प्रधानमन्त्री शेरबहादुर देउवालाई आज भेट्दैछन्। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आन्दोलनमा होमिएको बारलाई प्रधानमन्त्री देउवाले छलफलका लागि बोलाएका हुन्।
बारका महासचिव लिलामणि पौडेलले प्रधानन्यायाधीशलाई हटाउनुपर्ने कारणसहित प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाउने जानकारी दिएका छन्।
नेपाल बार एशोसिएसनमा आवद्ध कानुन व्यवसायीहरुले चरणबद्ध आन्दोलन गरिरहेका छन्। उनीहरूले बिहीबार प्रधानन्यायाधीशविरुद्ध कालोपट्टि बाँधेर विरोध जनाएका थिए। उनीहरुले जबराको राजीनामा माग गर्दै दिनहुँ सर्वोच्च अदालतको मूल गेटमा धर्ना दिँदै आएका छन्।
उनीहरुले आफ्नो माग न्यायिक शुद्धीकरणका लागि भन्दै प्रधानन्यायाधीशले राजीनामा नदिएसम्म विरोध कार्यक्रमलाई निरन्तरता दिने बताएका छन्।
प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै आएको नेपाल बार एशोसिएसनले संसद्मा रहेका विभिन्न राजनीतिक दलहरुलाई ज्ञापनपत्र एवं ध्यानाकर्षण पत्र बुझाइसकेको छ।
प्रधानन्यायाधीश जबराले न्यायिक क्षेत्रमा भ्रष्टाचार बढाएको, मन्त्रिपरिषद्मा भागबण्डा खोजेको, न्यायिक सुधार गर्न नसकेकोलगायत आरोप लगाउँदै कानुन व्यवसायीहरु करिब ४ हप्तादेखि आन्दोलित छन्।