
२०७८ माघ ५, काठमाडौं । श्री सती श्राप मोक्ष धाम र हजुरलाई नमस्ते परोपकारी अभियानको आयोजनामा सती श्राप मुक्ती शिव शक्ति श्री महायज्ञ हुने भएको छ । यही २०७८ माघ १९ गते बुधबारदेखि २९ गते शनिबारसम्म नारायणहिटि राजदरबार संग्रहालय भित्र हुने महायज्ञ मुल आयोजक मुलसमारोह समितिका संयोजक तथा समाजसेवी ताराबहादुर कुवँरले बुधबार पत्रकार सम्मेलन मार्फत जानकारी दिए । देशमा शान्ती सुव्यवस्था, अमनचयन विभिन्न संकटबाट मुक्ति गराउने उद्देश्यले महायज्ञ आयोजना गर्न लागिएको मोक्ष धामका संरक्षक तथा यस महायज्ञका परिकल्पनाकार युगप्रसाद धमला (हरि) ले बताउनुभयो ।
पत्रकार सम्मेलनमा संयोजक ताराबहादुर कुवँर, व्यवसायी दिलविकासराज भण्डारी, राजाको नम्वरी गुरु आचार्य पण्डित वाचक बाबुराम रिजाल, नेपालको एक मात्र संहिताशास्त्री अर्जुन प्रसाद बास्तोला, परिकल्पनाकार युग प्रसाद धमला (हरि) र धामका कोषाध्यक्ष वीरेन्द्र राज दाहालसहितको उपस्थितिमा पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको थियो ।
के हाम्रो देशको विकास नहुनु, विकृति विसंगति बढ्दै जानु र यो हालत हुनुमा सतीले सरापेको वा सराप नै हो त ? भन्ने गम्भीर प्रश्न खडा भएको भन्दै यस महायज्ञ लगाउन लागिएको बताइएको छ । हामीले नगरे कस्ले गर्छ, अहिले नगरे कहिले गर्ने भन्ने पवित्र सोच सहित दुई वटा संस्थाको आयोजनामा उक्त महायज्ञ गर्न लागिएको पत्रकार सम्मेलनमा कुवँरले बताए । कोरोना बढिरहेकै अवस्थामा झन यो महायज्ञ अपरिहार्य भएको भन्दै भिडभाड गरिने छैन, पूजापाठ, कथा भजन कृतन केही हुने छैन, वैद्धिक मन्त्र होम मात्र गरिनेछ । राजा महेन्द्रले लगाउनु भएको कोटी होममै महायज्ञ हुनेछ । निस्वार्थ भावले महायज्ञ गर्न लागिएको, मख्यतः सत्यको जीतको लागि र देशमा शान्ति, अमनचयन र विकासको लागि महायज्ञ गर्न लागिएको यो विशुद्ध महायज्ञ हो, कुवँरले बताए ।

काजी भीम मल्ल तथा भीमसेन थापाकी श्रीमतिले राम्रो काम गर्नेको कसैको भलो नहोस भनि दिएको श्रापले हाम्रो देशको यो हालत भएको त होईन ? पत्रकार सम्मेलनमा बाल्ने सबैले आ आफ्नो धारणा राख्दै यस महायज्ञले राम्रो सन्देश दिने बताए । लामो समयदेखि अथवा दरवार हत्या काण्ड पछि उक्त ठाउँमा कुनै किसिमको पूजा पाठ हुन नसकेको अवस्थामा यो महायज्ञले राम्रो सन्देश श्राप मोचन गर्ने र मुक्ति मिल्ने बताए । माघ १९ गतेदेखि नै हुन लागे महायज्ञमा अरु कुनै नियत नभएको भन्दै गुरुहरुले जुराउनु भएको मिति अनुसार गर्न लागेका बताइएको छ ।
नारायणहिटी दरबारमा नै किन भन्ने पत्रकारहरुको प्रश्नमा नेपाल दरबार वा व्यक्तिले होईन दरबारलाई दिएको श्राप अब हटोस र हट्छ पनि, हाम्रो मुल चाहना हो । दरवारलाई हामीले जुन रुपमा हेरेका छौं, अथवा सर्वसाधारणको हकमा महत्वपूर्ण लाग्नू स्वाभाविक हो । तर हामीले जुन सुखसयल देख्छौं, तर हामीले देखे, हेरे सोचे जस्तो रहेनछ । त्यहाँ धेरै नै दुखहरु रहेछन्, छन् । निरन्तर पूजा हुने गरेकोमा अहिले भएको छैन । त्यसैले कतै देवीदेवता तथा भगवान रिसाउनु भएको त होईन ? दरबार हत्या काण्डमा धेरै व्यक्तित्वहरुको निधन भएको थियो । ती आत्माहरुको पनि चिर शान्ति मिलोस । साथै देशमा विभिन्न कारणले ज्यान गुमाउनु भएका सबै खालका व्यक्ति व्यक्तित्वको शान्ति र मुक्ति दिलाउने यस महायज्ञको मुल सन्देश हुनेछ ।
२१ जना ब्राम्हण मार्फत वैद्धिक र होम हाल्ने काम हुन्छ । महायज्ञ लगाउने ठाउँ अत्यन्त ऐतिहासिक रहेको छ । १५० जनाको हल रहेको छ, जुन शाह वंशका राजाहरुले पूजा गर्ने ठाउँ रहेको र राजा महेन्द्रले कोटी होम पनि त्यही लगाउनु हुन्थ्यो । नेपाली सेनाको कडा पहरामा थोरै मान्छेको प्रवेश र सहभागितामा महायज्ञ हुनेछ । कोरोनाले कुनै असर गर्ने छैन भन्ने विस्वास गरेका छौं । महायज्ञमा सबै तह तप्काका व्यक्ति व्यक्तित्वलाई निमन्त्रणा गरिने छ । उद्घाटन सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारी र समापन प्रधानमन्त्री शेरबहादुर देउवालाई निमन्त्रणा गरिएको छ । साथै पूर्व राजा ज्ञानेन्द्र शाहलाई समेत निमन्त्रणा गरिने छ । कर्मचारी र सुरक्षा निकाय सबैलाई बोलाइनेछ ।
