समग्र विभेद विरुद्ध निरन्तर अभियानमा दलित समाज नेपाल


समग्र विभेद, र ट्राफिक जनचेतनामूलक स्लोगान सहितको होर्डिङबोर्ड प्रोजेक्ट ऐतिहासिक सुरुवात

काठमाडौं । शिक्षा, सीपको आधुनिकीकरण र जनचेतनामा हाम्रो प्रतिबद्धता भन्ने मुलमन्त्र सहित स्थापित भएको दलित समाज नेपालको आयोजनामा समग्र विभेद, र ट्राफिक जनचेतनामूलक स्लोगान सहितको होर्डिङबोर्ड प्रोजेक्ट सुरुवात गरेको छ । दलित समाज नेपालको अध्यक्ष बसन्त परियारको सभापतित्वमा, धादिङ जिल्ला प्रशाासन कार्यालय परिसरबाट प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालको प्रमुख आतिथ्यता, जिल्ला प्रहरी कार्यालय प्रमुख राकेश सिंह, जिसस उपप्रमुख कुलमान विश्वकर्मा, सबै दलका प्रतिनिधि, दलित अधिकारकर्मी र विभिन्न अधिकारसंग सम्वन्धित संघ सस्थाका प्रतिनिधिहरुको उपस्थितिमा प्रोजेक्ट सुरुवात वा बोर्ड उद्घाटन कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रामा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले आजको समयमा पनि विभेद ररिरहनु विडम्वना भएको बताउनु भयो । यस संस्थाले दलितको मात्र नभएर समग्र विभेद र ट्राफिक स्लोगान सहित जुन होर्डिङबोर्ड प्रोजेक्ट सुरु गरेको छ, महत्वपूर्ण र ऐतिहासिक भएको सुनाए । साथै उहाँले अहिले सबै पालिकाहरुमा नगर सम्मेलन भईरहेको भन्दै विभेद विरुद्धका आवाज उठाउन र सीपको आधुनिकीकरण गर्न बजेटको लागि प्रस्ताव लान आग्रह गर्नुभयो । कार्यक्रममा आफ्नो भनाई राख्नुहुदै धादिङका प्रहरी प्रमुख राकेश सिंहले यस संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत ट्राफिक सचेतना सहितको अभियानमा सघाउन लागेकोमा खुसी व्यक्त गर्दै सहकार्य गर्न तयार भएको सुनाउनुभयो । दलको प्रतिनिधिहरु माओवादी केन्द्र धादिङको जिल्ला सह–इञ्चार्ज रामबहादुर भण्डारी, नेपाली कांग्रेस धादिङको कोषाध्यक्ष रामप्रसाद अधिकारी, दलित अधिकारकर्मी बेगबहादुर सुनार र भोजबहादुर परियार समेतले आफ्नो भनाई राख्नुभएको थियो । कार्यक्रमको सभापति समेत रहनुभएको दलित समाज नेपालको अध्यक्ष बसन्त परियारले व्यवसायिक भन्दा पनि समाज परिवर्तन र समग्र विभेद विरुद्ध यस प्रोजेक्टको अभियान रहेको बताउनु भयो । यसमा हामी सबैको साथ सहयोग, जोड र प्रतिबद्धता आवश्यक हुनु पर्ने धारणा थियो ।

दलित समाज नेपाल आर्थिक वर्ष २०७५-०७६ मा जिल्ला प्रशासन कार्यालय धादिङमा विधिवत दर्ता भएको एक गैरनाफामुलक सामाजिक संस्था हो । परम्परागत सीप, कला र संस्कृतिको धनी दलित समुदाय राज्यबाट शोषण, दमन, विभेद र छुवाछुत जस्तो पिडामा सदियौंदेखि बाँचिरहेका छन् । यिनै परिदृश्यलाई मध्यनजर गर्दै दलित समाज नेपालले परम्परागत सीपलाई व्यवसायीकरण गर्ने, जनचेतना अभिवृद्धि गर्ने, शिक्षा, स्वास्थ्य र जीवनयापनमा सुधार गर्न विभिन्न सचेतनामुलक कार्यक्रमहरु गर्दै आईरहेको छ । समग्र विभेद, असमानता, ट्राफिक स्लोगानको अलावा सामाजिक वहिष्करण, दाईजो, छुवाछुत तथा भेदभावको अन्त्य सहितको सामाजिक न्याय, महिला शसक्तिकरण र जातीय समानतामा आधारित सु–संस्कृत समाज निर्माण गर्न यस होर्डिङबोर्ड प्रोजेक्ट अभियानमा सुरुवात गरेको प्रेस विज्ञप्ति मार्फत प्रतिबद्धता व्यक्त गरिको थियो ।

 

 

 


सम्बन्धित खवर