
काठमाडौँ । लोक गायिका दिलमाया सुनारको हत्याको आरोपमा पक्राउ परेका सूर्य भनिने खिलबहादुर श्रेष्ठ जेल चलान भएका छन् । जिल्ला अदालत काठमाडौंले थुनछेक बहसपछि आइतबार पुर्पक्षका लागि केन्द्रीय कारागार सुन्धारा पठाउन आदेश दिएपछि श्रेष्ठलाई कारागार चलान गरिएको बताइएको छ ।
सुर्खेत घर भई काठमाडौंको तारकेश्वर नगरपालिका ११ नेपालटारमा बस्ने ३३ वर्षीया गायिका सुनार असार ११ गते आफ्नै कोठामा मृत फेला परेकी थिइन् । गायिका मृत भेटिएको दिन उनका प्रेमी भनिने श्रेष्ठ पनि त्यहि बसेको र उनी राति नै भागेका थिए ।
गायिकाका बुवा केशर कामीले श्रेष्ठविरुद्ध किटानी जाहेरी दिएपछि प्रहरीले उनीमाथि थप अनुसन्धान गरेको थियो । अनुसन्धानका क्रममा सुनारको घाँटीमा सलले बाँधेर झुण्डाएर हत्या गरेको निष्कर्षसहितको प्रतिबेदन प्रहरीले बुझाएको थियो ।