
काठमाडौं । काठमाडौंमा चार जनाको मृत अवस्थामा फेला परेको घटनामा सुसाइड नोट फेला परेको छ । सोमबार बिहान तार्केश्वर नगरपालिका–२ पदमशालमा एकै परिवारका चार जना मृत अवस्थामा फेला परेका छन् । गोरखा भिमसेनथापा गाउँपालिका–६ अश्राङ स्थायी घर भई अहिले पदमशालमा एक तले घर बनाएर बस्दै आएकाहरू मृत अवस्थामा फेला परेका हुन् । प्रहरी स्रोतका अनुसार घटनास्थलबाट केही पानाको सुसाइड नोट पनि फेला परेको छ । केही पानाको नोट फेला परेको छ, उनले भने ।
मृत फेला पर्नेमा ३८ वर्षीय दिनेश पाण्डे, उनकी श्रीमती ३४ वर्षीया सुनिता, ११ वर्षीया छोरा आशिक र ७ वर्षीया आशिका छन् । उनीहरूको शव विभत्स अवस्थामा फेला परेको हो । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट घटनामा तीन जनाको हत्यापछि आत्महत्या गरेको देखिएको स्रोतको भनाइ छ । घटनास्थलमा एउटा कोठामा आमा र छोराछोरीको हत्या गरिएको अवस्थामा फेला परेको हो भने दिनेश अर्को कोठामा मृत अवस्थामा फेला परेका हुन् । घटनाबारे खबर पाएपछि जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली घटनास्थलमा पुगेको हो ।
बच्चालाई स्कुल बस लिन आएपछि घटनाबारे थाहा भएको हो । आशिका छाउनीस्थित सैनिक स्कुलमा पढ्थिन् । सोमबार बिहान स्कुल बस लिन आउँदा पनि उनी स्कुल बसमा चढ्न आइनन् । घरनजिकै बस्ने दिनेशका दाइले हेर्न जाँदा उनीहरू मृत फेला परेको मेयर कृष्णहरि महर्जनले बताए । बिहान नानीलाई लिन बस आएको रहेछ । उनी बस चढ्न नआएपछि हेर्न जाँदा घटना भएको देखिएको हो, उनले भने, त्यसपछि प्रहरीलाई खबर गरिएको थियो ।
घटनाबारे अनुसन्धान गर्न फरेन्सिक डाक्टरको पनि टोली पुगेको छ। घटनास्थलमा त्रि.वि. शिक्षण अस्पतालबाट डा. गोपाल चौधरी र डा. आयुष उपाध्याय सहितको टोली खटिएर अनुसन्धान गरिरहेको छ । तारकेश्वर–२ का वडाध्यक्ष राधाकृष्ण खड्गीका अनुसार दिनेशले पदमसाल चौकमा बिजुलीका सामान बेच्ने पसल चलाएका थिए । अहिले पनि उनले पसल चलाइरहेका थिए कि थिएनन् भन्ने खुलेको छैन ।