
काठमाडौँ । काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र शाह (बालेन)ले सत्तारुढका नेताहरुकै अगुवाइमा फोहोर विसर्जनमा अवरोध भएको आरोप लगाएका छन् । आज पनि फोहोर सहज रुपमा बञ्चरेडाँडा लग्न नसकिएको भन्दै मेयर शाहले सत्तारुढ दलका स्थानीय नेताहरुकै अगुवाइमा सडक अवरुद्ध गरिएको बताएका हुन् । सडक अवरोधमा सत्तारुढ दलका साथै प्रमुख प्रतिपक्षी नेकपा एमाले र राप्रपाका स्थानीय नेताहरुले पनि साथ दिएको उनले बताएका छन् । दुई सयभन्दा बढी प्रहरी परिचालन गरेर फोहोरका गाडी लगिएको उनले बताए । तर, केही व्यक्तिहरुले लुकेर गुलेली हानेर अवरोध सिर्जना गरेको उनले गुनासो गरे। जसका कारण सोमबार २०३ वडा मात्रै फोहोरका गाडी बञ्चरेडाँडा पु¥याउन सकिएको उनले बताएका छन् ।
केही दिन र केही समयबाट देखिरहेको समस्या सतही मात्रै हो । यसका गहिरा र अलग्गै कारणहरु छन् । नत्र सोच्नुहोस् त, राज्यले ५ अर्बभन्दा बढी लगानी गरिसकेको, झन्डै २ दशकदेखि योजना बनाएको ठाउँमा फोहोर लैजान यतिका माथापच्ची किन गर्नुपर्छ ? २०० भन्दा बढी प्रहरी परिचालन गर्दा पनि स्थानीयले लुक्दै गुलेली हान्न सक्ने अवस्था किन बन्छ ? पुरै राज्य संरचना यस्तो निरिह किन बन्छ ?, उनले प्रश्न गरेका छन् । फोहोर फाल्ने क्रममा सिसडोलमा गरिएको लापरबाहीले उक्त क्षेत्रको दुरावस्था भएकोले स्थानीयले विश्वास नगर्नु स्वभाविक भएको उनको भनाइ छ । तर, अब त्यस्तो नहुने उनको प्रतिवद्धता छ ।
उनले अगाडि लेखेका छन्, यहाँ केही कमजोरी, केही गल्ती भएकै छ । सिसडोलमा गरिएको लापरवाही र त्यो क्षेत्रको दुरावस्थाले गर्दा स्थानीयहरुले जोसुकैलाई विश्वास गर्न नसक्नु अस्वभाविक पनि होइन । तर, हामी विश्वस्त पार्न चाहन्छौँ कि विगत दोहो¥याएर अपराध गर्ने छैनौँ । यसका लागि केही समय भने पक्कै लाग्छ । सिसडोलको वैज्ञानिक व्यवस्थापन र बञ्चरेको दिगो उपयोगिताका लागि महानगर संवेदनशील रहेको र आफूले गरेका सहमतिहरुको पालना गर्ने उनको भनाइ छ । यसमा आफूले सबै पक्षबाट इमानदारिताको अपेक्षा गरेको उनले बताएका छन् ।
बालेनको फेसबुक स्टाटस
फोहोर लैजाने कुरा आज पनि सहज भएन । सत्तारुढ दलहरुकै स्थानीय नेताहरुको अगुवाइमा सडक अवरुद्ध गरियो, जसलाई विपक्षी दलहरु एमाले र राप्रपाका स्थानीय नेताहरुले पनि साथ दिएको देखियो । यद्यपि २०० भन्दा बढि प्रहरीहरुको परिचालनबाट फोहोरका गाडीहरु बञ्चरे लगियो । तर केहि समूहबाट लुक्दै गुलेली हानेर अवरोध सिर्जना गर्ने प्रयास गरियो । यसैकारण आज २०३ वटा मात्र फोहोरका गाडीहरु बञ्चरे डाँडा लैजान सकियो ।
केहिदिन र केहि समयबाट देखिरहेको समस्या सतही मात्रै हो । यसका गहिरा र अलग्गै कारणहरु छन् । नत्र सोच्नुहोस् त, राज्यले ५ अर्बभन्दा बढि लगानी गरिसकेको, झन्डै २ दशकदेखि योजना बनाएको ठाउँमा फोहोर लैजान यतिका माथापच्ची किन गर्नु पर्छ ? २०० भन्दा बढि प्रहरी परिचालन गर्दा पनि स्थानीयले लुक्दै गुलेली हान्न सक्ने अवस्था किन बन्छ ? पुरै राज्य संरचना यस्तो निरिह किन बन्छ ?
यहाँ केहि कमजोरी, केहि गल्ति भएकै छ । सिसडोलमा गरिएको लापरवाही र त्यो क्षेत्रको दुरवस्थाले गर्दा स्थानीयहरुले जोसुकैलाई विश्वास गर्न नसक्नु अस्वभाविक पनि होइन । तर हामी विश्वस्त पार्न चाहन्छौँ कि विगत दोहोर्याएर अपराध गर्ने छैनौँ । यसका लागि केहि समय भने पक्कै लाग्छ । सिसडोलको वैज्ञानिक व्यवस्थापन र बञ्चरेको दिगो उपयोगीताका लागि महानगर संवेदनशील छ । हामी आफुले गरेका सहमतिहरुको पालना गर्नेछौँ । सबै पक्षबाट हामी त्यहि किसिमको संवेनशीलता र इमान्दारिताको अपेक्षा राख्दछौँ ।
पुनः भन्न चाहन्छौँ, व्यवस्थापन हाम्रो स्वार्थहरुको गर्नु पर्ने होइन, फोहोरको हो । आफ्ना कुत्सित स्वार्थहरुको व्यवस्थापन महानगरले गरिदेला भन्ने सोच्नु भएको छ भने त्यो भ्रम हो । त्यसो भन्दैमा कसैलाई हराउने खेलमा महानगर छैन । सबैले जित्ने कार्यक्रम लागू गर्ने योजनामा महानगर छ ।