कोरोना सङ्क्रमणबाट थप दुई जनाको मृत्यु, २४ घण्टामा थपिए २९९ जना सङ्क्रमित


काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण थप २ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ९९२ जना पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा थप २९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बितेको २४ घण्टामा देशभर गरिएको ४ हजार ३३७ जनाको नमूना परीक्षणबाट २९९ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ६७० जनाको आरटी–पीसीआर गर्दा १८० जना र २ हजार ६६७ जनाको एन्टिजेन परीक्षण गर्दा ११९ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ९ लाख ९५ हजार ३९ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५७७ जना संक्रमित संक्रमणमुक्त भएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मुक्त हुनेको संख्या ९ लाख ७८ हजार ४२२ जना पुगेको छ । यो कुल संक्रमितको ९८ दशमल ३ प्रतिशत हो ।

अघिल्लो दिन देशभर ४ हजार ९४५ जनाको नमूना परीक्षण गर्दा ६२३ जनामा संक्रमण पुष्टि भएको थियो भने ४८७ जना संक्रमित संक्रमणमुक्त भएका थिए । उक्त दिन संक्रमणबाट कसैले पनि ज्यान गुमाउनु परेको थिएन । हाल देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ६२५ जना छ । मन्त्रालयका अनुसार हालसम्म नेपालमा ५८ लाख ६८ हजार ५९९ जनाको स्वाब (नमूना) परीक्षण गरिएको छ भने अहिले ५ हजार ६२५ जना आइसोलेसनमा छन् ।

 


सम्बन्धित खवर

अन्तर्वार्ता

स्वास्थ