
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)को बुधबारको कार्यसमिति बैठक तनावपूर्ण बनेको छ । बिहान ८ बजे बोलाइएको कार्यसमिति बैठक एजेण्डा प्रवेशको विवादले ढिला सुरु भएपनि विवादित बनेको हो । एन्फाको संस्थापन पक्षले १९ वटा एजेण्डा राख्दै कार्यसमिति बैठक बोलाएको थियो। तर दुई उपाध्यक्षसहित ५ केन्द्रीयस सदस्यले महासचिव र कोषाध्यक्ष बर्खास्त गर्नुपर्ने मागसमेत एजेण्डामा सहभागी गराउन माग गरेका थिए ।
तर एन्फा अध्यष पंकजविक्रम नेम्बाङले आफूले संघको विधानको धारा ३९ (३) बमोजिम एजेण्डा थप्न नसक्ने बताएसँगै आजको कार्यसमिति बैठक विवादित हुने आँकलन गरिएको थियो । उनीहरुले मुख्य रूपमा कोषाध्यक्ष र महासचिव वर्खास्त लगायत विभिन्न ६ वटा एजेण्डा थप गर्न मागगर्दै एन्फामा निवेदन दर्ता गराएका थिए । जुन एजेण्डा थप नभएपछि असन्तुष्ट केन्द्रीय सदस्यहरुले कार्यसमिति सदस्यलाई बाइपास गरेर अध्यक्ष नेम्वाङ अघि बढ्न खोजेको भन्दै बैठकमा हात हालाहालको अवस्था सिर्जना भएको थियो। यसक्रममा टेबलका सिसाहरूसमेत फुटेको जनाइएको छ ।
आफ्ना एजेण्डा समावेश नगरी पेलेरै बैठक अघि बढाएपछि असन्तुष्ट १० केन्द्रीय सदस्यले बैठकको हाजिर पुस्तिकामा हस्ताक्षरसमेत गरेका छैनन् । अध्यक्ष नेम्वाङले बहुमत केन्द्रीय सदस्यको संख्या देखाएर बैठकलाई जारी राखेका छन् । असन्तुष्ट समूहले बहुमत केन्द्रीय सदस्यलाई बाहिर राख्दै बैठक अघि बढाएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।