
काठमाडौं । काठमाडौंको बानेश्वरमा दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान’को प्रदर्शन भएको छ । शनिबार दिउँसो माइतीघर मण्डलामा भेला भएर नाराबाजी गर्दै प्रदर्शनकारीहरू नयाँ बानेश्वर पुगेका हुन् । उनीहरूले नयाँ बानेश्वरमा कोणसभा गरेका छन् । आर्थिक अन्याय र बेथितिविरूद्ध आन्दोलन गरेको उनीहरूको भनाइ छ ।
उनीहरूले राजतन्त्र फर्काउनुपर्ने, संघीयता खारेजीको मागसहित नाराबाजी समेत गरेका छन् । प्रदर्शनकारीले राष्ट्रिय झन्डा समेत बोकेका छन् । पछिल्लो समय दुर्गा प्रसाईं राजतन्त्र फर्काउने अभियानमा लागेका छन्। उनले गत फागुन १ गते काँकडभित्तामा पूर्वराजा ज्ञानेन्द्र शाह र पारस शाहलाई राखेर कार्यक्रम गरेका थिए । उक्त अभियानको उद्घाटन ज्ञानेन्द्र शाहले गरेका थिए ।
उनले मुलुक २०४६ सालअघि फर्काउनुपर्ने भन्दै भाषण समेत गरेका थिए । २०४६ साल अघिसम्म मुलुक पञ्चायती शासनको अधिनमा थियो। राजाको सक्रिय शासनकालमा दलीय प्रतिस्पर्धादेखि न्यूनतम लोकतान्त्रिक हकसमेत कुण्ठित थिए । गणतन्त्रका लागि सशस्त्र युद्धमा होमिएका प्रसाईंले आफूलाई राजाको सक्रिय शासनको पक्षमा खुला रूपमा उभ्याएका हुन् ।
यस्तै पार्टीले कारबाही गर्न लागेको थाहा पाएसँगै उनले सार्वजनिक रूपमै एमाले छाडिसकेको घोषणा गर्दै आएका थिए । उनलाई नेकपा एमालेले निष्कासित गरिसकेको छ । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीको पनि सार्वजनिक रूपमा टिप्पणी गरेका थिए । ओलीले पनि उनको गतिविधिबारे पानीको लेभल मिल्दै जाने बताएका थिए ।