जातिय विभेदका विरुद्धमा दलित आत्मरक्षा अभियानको अन्तरक्रिया कार्यक्रम सम्पन्न


काठमाण्डौ । अन्तर्राष्ट्रिय जातिय विभेद उन्मुलन दिवस २०२३ को सन्दर्भमा दलित आत्मरक्षा अभियानले वृहत अन्तरक्रियात्मक भेला गरेको छ । जातिय विभेद विरुद्धका अभियान निरन्तर रुपमा चलाइरहेका दलित अभियन्ता डा. मित्र परियारको नेतृत्वमा सञ्चालित दलित आत्मरक्षा अभियानले विशेषगरी हिन्दु वर्ण व्यवस्थाभित्रको जात व्यवस्था जोगाइराखेको हुनाले धर्मको व्यापक सुधार गरेर विभेद विरुद्धका ऐन नीतिहरुलाई कठोरता पूर्वक कार्यान्वयन गर्नु पर्ने र गराउने मार्गमा आफ्ना अभियानहरु सञ्चालन गरिरहेको छ ।

अन्तरक्रियात्मक भेलामा दलित गैरदलित समुदायबाट थुप्रै दिग्गज व्यक्तित्वहरु, अधिकारकर्मी, सामाजिक अगुवा, अभियन्ता पत्रकारहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा आत्मरक्षा अभियानमा सञ्चालक डा. मित्र परियारले आत्मारक्षा अभियानको मुख्य दुईवटा उद्देश्य रहेको बताए । एउटा उद्देश्य जातिय विभेद विरुद्ध बनेका कानुनको कडा कार्यान्वयन गराउने र अर्को भनेको धर्मको व्यापक परिमार्जन र सुधार गर्ने रहेको बताए । आफ्नो समुदायको मुक्ति र अधिकार रक्षाको लागि सबै ऐसआरामको जीवन त्यागेर विभेदको विरुद्धमा खरो आवाजका साथ कठोर रुपमा उभिएको उनको तर्क थियो ।

आफ्नो समुदायको मुक्तिका लागि अरुको नेतृत्वमा रहेर सम्भव नहुने देखेर नै आफैले नेतृत्व गरेर दलित आत्मरक्षा अभियान सुरु गरेको उनले बताए । अन्तरक्रिया कार्यक्रममा दलित विद्रोह किन ? कसरी ? र कहिले ? भन्ने कुरामा पनि विमर्शको आवश्यक रहेको कुरा डा. परियारले उल्लेख गरे । पलपलमा जातीय विभेदको सिकार भएका दलित समुदायको आत्मसम्मान रक्षाका लागि आफू दिलोज्यान दिएर लाग्ने उदघोष समेत परियारको थियो । कार्यक्रममा कसैलाई पनि ड्यासमा नराखी सबैलाई समान हैसियतमा राखेर फरकपन देखाइएको थियो ।

कार्यक्रममा कमला हेमचुरी, आङकाजी शेर्पा, डा. कृष्ण भट्टचन्द, कुमार लिङदेन लगायतका दलितमाथी हुने गरेका जातिय विभेदमाथी कलम चलाउने साथै विभेदका विरुद्धमा खरो आवाज बुलन्द गर्ने सामाजिक रुपान्तरणका पक्षधरहरुले मन्तव्य राखेका थिए । मन्तव्यको क्रममा आत्म पहिचानको लागि विद्रोह आवश्यक भएको र एकलजातिय राज्यसत्ताका विरुद्धमा आवश्यक परे सशस्त्र विद्रोहको विगुल फुक्न पनि पछि पर्न नहुने कुरा औल्याएका थिए । अधिकार मागरे नपाएपछि खोस्नका लागि पनि तयार हुनुपर्ने जिकिर धेरैले गरेका थिए ।

करिब ७० प्रतिशत जनसंख्या भएको वर्गलाई ३० प्रतिशत जनसंख्या भएको वर्गले शोषण गरिरहेको अव सहेर बस्न नहुने कुरा धेरै बक्ताहरुले राखेका थिए । संघीय व्यवस्थामा सबै जाती धर्म पेशा र वर्गको प्रतिनिधित्व झल्किने राज्य व्यवस्था हुनुपर्ने अनिवार्य शर्त भए तापनि व्यवहारमा त्यस्तो कही कतैपनि नभएको तितोसत्यलाई सबैले मनन गरेको छलफलमा पाइएको थियो । दलित जनजाति एकजुट भएर पहिचानका लागि आवाज बुलन्द गर्न ढिला गर्न नहुने दलित र जनजाति एक हुने हो भने जातिय विभेद अन्त्य गर्ने अभियानको सकरात्मक असर ५ वर्षभित्र देख्न सकिने कुरामा अभियन्ताहरुको जोड थियो ।

भेलामा बोल्ने अधिकांश बक्ताहरुले दलित विद्रोहको आवश्यकता औलाउदै विद्रोह कस्तो हुनुपर्ने र कहिले सुरु गर्नुपर्ने जस्ता विषयमा आफना विचारहरु राखेका थिए । बक्ताहरुले शसक्त रुपमा दलित आन्दोलन चर्काउनु पर्ने आजको आवश्यकता रहेको उल्लेख गरे । दलित समुदायका जेष्ठ नागरिक तथा जीतबहादुर विकको सभापतित्वमा भेलाको आयोजना गरिएको थियो ।

भेलामा डा. मित्र परियारले थप भने, राज्यले दलितलाई तल्लो दर्जामा नै कायम राखेको उल्लेख गरे । त्यसैगरी सामाजिक अभियान्ता कुमार लिङदेनले राज्यले दलितहरुको आत्मसम्मान गर्न नजानेभन्दै दलितले विद्रोह गर्ने सही समय आएको उल्लेख गरे । दलित अगुवा चन्द्रदेव दास, सामाजिक अभियान्ता किवाङ हाङ राई, सचेत नेपाली पार्टीका अध्यक्ष पुण्य प्रसाई, मंगोल नेशनल अर्गनाइजेशनका नेता जीवन मंगोल, विनि थापा, खस अभियान्ता थर्कमान बस्नेत, विनोद सुनार, विनोद थापा, डा सुबास सुब्बा लिम्बु, मगरात आन्दोलनका राम मगर, सामाजिक अभियान्ता आङकाजी शेर्पा कुमार लिङदेन लगायतले कार्यक्रममा आफनो धारणा प्रस्तुत गरेका थिए ।


सम्बन्धित खवर