काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध परेको जबरजस्ती करणीको मुद्दामा सोमबार अन्तिम सुनुवाइ हुँदैछ । जिल्ला अदालत, काठमाडौँमा आज सोमबार अन्तिम सुनुवाइको पेशी तोकिएको हो । सर्वाेच्च अदालतले ‘फास्ट ट्र्याक’बाट मुद्दा सकाउन आदेश दिएपछि आजलाई अन्तिम सुनुवाइको पेशी तोकिएको हो ।
यसअघि शुक्रबार जाहेरवाला किशोरीले अन्तरिम राहत माग गर्दै दायर गरेको निवेदनमा सुनुवाइ भएको थियो । न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले अन्तरिम राहत दिन नपर्ने आदेश सुनाएको थियो । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तानसमेत रहेका लामिछानेविरुद्ध गत कात्तिक १४ गते जिल्ला अदालत, काठमाडौँमा जबरजस्ती करणीको मुद्दा दायर भएको थियो ।
उनीविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १८ को करणीसम्बन्धी कसुरको दफा २१९ को उपदफा (३)को देहाय (घ) अन्तर्गतको कसुर गरेको अभियोग लगाइएको छ । १८ वर्षभन्दा कम उमेरकी महिला (किशोरी)माथि करणी गरेको कसुरमा सन्दीपलाई १२ वर्ष कैद सजायको मागदावी गरिएको छ ।
दफा २१९ को उपदफा (३)को देहाय (घ) मा १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिलालाई करणी गरेमा १० देखि १२ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ । लामिछानेलाई पाटन उच्च अदालतले विदेशमा जान रोक लगाएको थियो । जसविरुद्धमा सर्वोच्चमा पुगेका लामिछानेलाई सर्वोच्च अदालतले विदेश जानका लागि स्वीकृत प्रदान गरेको थियो ।