
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालका विरुद्ध नाराबाजी गर्दा पक्राउ परेका तीन युवा जेल चलान भएका छन् । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले तीनै जनासँग अभद्र व्यवहार मुद्दामा जनही पाँच हजार रुपैयाँ धरौटी मागेको थियो । तर, उनीहरूले धरौटी तिर्न अस्वीकार गरेपछि जेल चलान गरिएको जिल्ला प्रशासन कार्यालयले पुष्टि ग¥यो । उनीहरूसँग चैत १२ गते धरौटी मागिएको थियो ।
प्रधानमन्त्री दाहाल चैत ७ गते काठमाडौंको नयाँ बानेश्वरमा अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन दिवस सम्बन्धी कार्यक्रममा पुग्ने बित्तिकै केही युवाले नाराबाजी गरेका थिए । प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिंदा मुख थुनेको थियो जसको व्यापक आलोचना भएको थियो । प्रधानमन्त्री दाहाल विरुद्ध नाराबाजी गर्दा सोलुखुम्बुका २३ वर्षीय उद्धव बस्नेत, बागलुङका ३० वर्षीय सोम शर्मा र बझाङका १८ वर्षीय विप्लव खड्का पक्राउ परेका थिए ।
तीनै जनालाई जेल चलान गरिएको हो । उनीहरूले सामाजिक सञ्जालमा ब्यांकको ब्याजदर घटाउन माग गर्दै सरकारको विरोध गरेको भिडिओ सार्वजनिक भएको थियो । ब्यांकको ब्याजदर घटाउन माग गर्दै व्यापारीले विरोध गर्दै आएका छन् । उनीहरू बन्दीप्रत्यक्षीकरणको रिट बोकेर सर्वोच्च अदालत पुगेका छन् । त्यसमा सर्वोच्च अदालतले जिल्ला प्रशासन कार्यालयको नाममा कारण देखाऊ आदेश दिए ।