काठमाडौं । सिंहदरबारभित्रको फोहर नउठाएपछि काठमाडौं महानगरपालिकाविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । सोमबार अधिवक्ता पदमबहादुर श्रेष्ठले महानगरलाई फोहर उठाउन आदेश दिन माग गर्दै रिट दायर गरेका हुन् ।
फोहोरका कारण जनस्वास्थ्यमा नकारात्मक असर परेकाले महानगरले तत्काल फोहर उठाउनुपर्ने माग गरिएको छ । महानगरपालिकाका मेयर वालेन्द्र साह (बालेन) ले सिंहदरबारको फोहर नउठाउन निर्देशन दिएका थिए ।
चैत २५ गतेदेखि सिंहदरबारको फोहर उठ्न सकेको छैन । बालेनले सिंहदरबार प्रवेश गर्ने नेताहरुलाई नै फोहर फाल्ने ठाउँमा राख्नुपर्ने भन्दै फोहर नउठाउने तर्क गरेका थिए । उनको यो भनाइको चर्को आलोचना भएको छ ।
यसबाट संघीय सरकार र स्थानीय सरकारबीच तालमेल नभएको स्पष्टै हुन्छ । र पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कुनै पहल गरेका छैनन् । सिंहदरबार भने फोहरको डंगुर बन्दै गएको छ ।