सरकारलाई दिएको समर्थन फिर्ता लिने रास्वपाको संकेत


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले दोस्रो पटक सांसद पदको शपथ लिएपछि सरकारमा जाने सम्भावना नरहेको बताउँदै बरु समर्थन फिर्ता लिने भनाइ राखेका छन् । सिंहदरबारस्थित संसद सचिवालयका सांसद पदको शपथ लिएपछि सभापति लामिछानेले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा जाने सम्भावना नरहेको बताएका छन् ।

अहिले सरकारमा जाने वातावरण छैन । समर्थनबारेमा हामी तत्कालै केन्द्रीय समिति र संसदीय दलको बैठकबाट निर्णय लिन्छौँ, उनले भने, सरकारमा जानेभन्दा फिर्ता लिने सम्भावना धेरै देखिन्छ । उनले आमनागरिकसँग भोट मागिरहँदा महत्वपूर्ण विषयका रुपमा भ्रष्टाचार नियन्त्रणको मुद्दा उठाएको बताए ।

हामीले भ्रष्टाचार नियन्त्रणलाई जोडदार रुपमा उठायौँ । तर हामी सरकारबाट हटेपछि सरकारले न्यूनतम साझा कार्यक्रममा भ्रष्टाचार नियन्त्रण एजेन्डा नै हटाएर गम्भीर गल्ती गर्यो, उनले भने, सरकारले हाम्रो मुख्य एजेन्डा नै हटायो। त्यसमा हाम्रो गम्भीरभन्दा गम्भीर आपत्ति छ । हामीलाई जनताले एजेन्डासहित पठाएका हुन् । हाम्रो एजेन्डा हटाइएको कुरामा गम्भीर आपत्ति छ ।

उनले सरकारलाई दिएको समर्थनबारे गम्भीर समीक्षा गरेर निर्णय लिने बताए । सरकारमा रहने त अहिले सोच्नै सकिँदैन । समर्थनबारे पनि हामी गम्भीर समीक्षा गरेर निर्णय लिन्छौँ, उनले भने, ‘धेरैले यसबारेमा केहो भनेर चासो राख्नु भएको थियो । चुनावमा जे जस्ता कृयाकलाप भए, तिनका कारण पनि सरकारको समर्थन पनि पुनर्विचार गर्छौँ ।


सम्बन्धित खवर