माइतीघरमा महावीर पुनको धर्ना किन ?


काठमाडौं । अनुसन्धान, नवप्रवर्तन र आविष्कारका निमित्त सरकार गम्भीर नभएको भन्दै राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले माइतीघर मण्डलामा धर्ना सुरु गरेका छन् । सरकारले खोज अनुसन्धान र आविष्कारमा बेवास्ता गरेको भन्दै पुनले शुक्रबारबाट अनिश्चितकालिन धर्ना सुरु गरेका हुन् । महावीरसँगै धर्नामा बसेकाहरुले ‘स्टार्टअप उद्यमीहरुलाई प्रोत्साहन गर, अनुसन्धान, नवप्रवर्तन र आविष्कार जगतमा युवा सहभागिता’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका छन् ।

सरकारले प्रतिभा भएका र अनुसन्धान तथा आविष्कार गर्न सक्नेहरूको लागि केही नगरेकाले दबाब स्वरूप आन्दोलन गर्नु परेको पुनको भनाइ छ । धर्नाअघि पत्रकारहरुलाई प्रतिक्रिया दिँदै उनले नेपाल अनुसन्धान, नवप्रवर्तन र आविष्कारका क्षेत्रमा धेरै पछाडि परेको भन्दै यो विषयमा जनस्तरमा सचेतना जगाउनको लागि आन्दोलन गर्नुपरेको पनि उल्लेख गरे ।

नयाँ विषयहरूको आविष्कार गर्ने, नयाँ प्रवर्द्धन गर्ने काम गर्न नसके मुलुकको अर्थतन्त्रलाई सुधार गर्न नसकिने भन्दै अर्थतन्त्र सुधार हुन नसक्दा नेपाली युवाहरू विदेश जान बाध्य हुने पुनले बताए । अर्थतन्त्र सुधारको लागि सरकारको प्रमुख प्राथमिकताकासाथ अनुसन्धान, आविष्कार र नवप्रवर्तन क्षेत्रमा लगानी गर्नुपर्नेमा बताए । नेपालमा सरकारले यस विषयमा प्राथमिकता नदिएकाले अर्थतन्त्र सुधार नहुँदा दुःख पाइएको उनको भनाइ छ ।

 


सम्बन्धित खवर