ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपालको ९ औं महाधिवेशन हुँदै – अध्यक्षमा ठुलोबाबु श्रेष्ठ निर्विरोध निर्वाचितहुने बलियो सम्भावना


काठमाडौं । ग्रील तथा स्टील ब्यवसायीहरुको छाता संगठनकोरुपमा रहेको ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपालको ९ औं महाधिवेशन यहि बैशाख २१ गते हुने भएको छ ।

काठमाडौंको प्रदर्शनिमार्गमा रहेको राष्ट्रिय शभा गृहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादवले महाधिवेशनको उद्घाटन गर्नेछन् ।

देशभर ६७ जिल्लामा रहेका ब्यवसायीक संगठनहरुको छाता संगठनकोरुपमा रहेको यस महासंघमा करिब ११ हजार ग्रील तथा स्टील ब्यवसायीहरु आवद्धभएका छन् ।

१ लाख ५० हजार भन्दा बढी कामदारहरुलाई प्रत्यक्ष रोजगारी दिईरहेको यस संगठनले बार्षिक अरबौं रकमको कारोबार गर्नुको साथै देशको अर्थतन्त्रमा समेत महत्वपूर्ण भूमिका खेलिरहेको छ ।

एउटा सामान्य पेशाकोरुपमा हेरिने यस ब्यवसायलाई संगठित संस्था बनाउंदै अहिले बिस्तारै उद्योगको रुप धारण गर्दै गईरहेको छ ।

बिगत लामो समयदेखि महासंघको नेतृत्व मोहन कटुवालले गर्दै आएकोमा अब बिधानबमोजिम यस पटकको ९ औं अधिवेशनबाट नयाँ नेतृत्व चयन हुने बताइएको छ । हाल महासंघको प्रथम उपाध्यक्ष समेत रहेका ठुलोबाबु श्रेष्ठलाई भावी अध्यक्षको लागि अगाडी सारीएको महासंघका एक केन्द्रीय सदस्यले बताए ।

हालका अध्यक्ष मोहन कटुवाल तथा वरिष्ठ उपाध्यक्ष रहेका निरन्जन कुमार श्रेष्ठ, आम व्यवसायी र प्रतिनिधिहरुले लामो समयदेखि महासंघमा रहेर काम गरेका ठुलोबाबु श्रेष्ठलाई अध्यक्षमा समर्थन गर्ने भएपछि उनको सम्भावना बलियो देखिएको हो ।

सकेसम्म अन्य पदहरुमा समेत सहमति गरेर जाने वर्तमान अध्यक्ष मोहन कटुवाल र वरिष्ठ उपाध्यक्ष निरन्जन कुमार श्रेष्ठ लगायतले पहल गरिरहेको श्रोतले बताएको छ ।

बैशाख १९ गते मनोनयन दर्ता तथा २० गते नामावली प्रकाशन गरेर २१ गते नयाँ कार्यसमितिको चयन गरिने कार्यतालिका रहेको एक सचिवालय सदस्यले बताए ।

महासंघले नयाँ नेतृत्व पाएसंगै संगठनलाई देशको संघीय ढाँचामा लैजाने तथा अन्य विविध नितिगत निर्णय तथा बिधान संसोधन गर्ने बिषयमा समेत छलफल भईरहेको श्रोतको भनाई रहेको छ ।


सम्बन्धित खवर