काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा आज बुधबारबाट अभियुक्त पक्षको बहस हुने भएको छ । हिजो मंगलबार काठमाडौं जिल्ला अदालतमा थुनछेक बहसमा सरकारी वकिलका तर्फको बहस सकिएसँगै आजबाट अभियुक्त पक्षका वकिलहरूले बहस सुरु गर्ने भएका हुन् । अभियुक्त पक्षको बहसका लागि पूर्वमहान्यायाधिवक्तादेखि नेपाल बार एशोसियसनका बहालवाला अध्यक्ष तथा पूर्वअध्यक्षहरूले नाम टिपाएका छन् ।
प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृण खाँणका पक्षबाट तीनजना पूर्वमहान्यायाधिवक्ता, नेपाल बारका अध्यक्ष र नेपाल बारका दुईजना पूर्व अध्यक्षले बहस गर्ने छन् । पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खाती, महादेव यादव र हरिहर दाहालले बहस गर्ने छन् भने बारका वर्तमान अध्यक्ष गोपालकृष्ण घिमिरे, पूर्वअध्यक्ष शेरबहादुर केसी र प्रेमबहादुर खड्का, अधिवक्ता योगेन्द्र अधिकारी र पुरुषोत्तम अर्यालसहित २४ जना कानुन व्यवसायीहरुले खाँणको तर्फबाट बहस गर्न नाम टिपाएका छन् ।
यसैगरी, पूर्वमन्त्री टोपबहादुर रायमाझीको तर्फबाट ११ जना, केशव दुलालको तर्फबाट ७ जना, टेकनारायण पाण्डेको तर्फबाट पाँच जना कानुन व्यवसायीले बहसको लागि नाम टिपाएका छन् भने सन्दीप रायमाझीको तर्फबाट चार जना, इन्द्रजित राईको तर्फबाट चार जना, नरेन्द्र केसीको तर्फबाट तीन जना, गोविन्द चौधरीको तर्फबाट तीन जना, हरिभक्त महर्जनका तर्फबाट दुई जना, आङटावा शेर्पाको तर्फबाट दुई जना र समशेर मियाँको तर्फबाट एक जना वकिलले नाम टिपाएको बताइएको छ ।
थुनछेक बहस जेठ ३१ गतेसम्म जारी रहने छ । त्यसपछि उनीहरूलाई धरौटीमा छाड्ने की थुनामै राख्ने भन्ने निर्णय अदालतले लिनेछ । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले पक्राउ परेका १८ जनासहित फरार रहेका ३० जनालाई संगठित अपराध, कीर्ते, ठगी तथा राज्य विरुद्धको आरोप गरी चारवटा मुद्दा लगाउँदै रु २७ करोड ५० लाख बिगो माग दाबीसहित जिल्ला अदालत काठमाडौंमा गत जेठ १० गते मुद्दा दायर गरेको थियो ।