
काठमाडौं । काठमाडौँ । सरकार र शिक्षक महासंघबीचको सहमतिसँगै शिक्षकहरूको आन्दोलन स्थगित भएको छ । सरकारले ल्याएको शिक्षा विधेयकको विरोधमा शिक्षम महासंघको नेतृत्वमा देशैभरका शिक्षकहरू काठमाडौंमा तीन दिनदेखि आन्दोलनरत थिए ।
आज गृह मन्त्रालयमा सरकार र महासंघबीच सहमति भएको हो । यसैबीच, सरकार र शिक्षक महासंघबीचको सहमतिमा राहत शिक्षकले भने असन्तुष्टि जनाएका छन् । सहमतिमा आफूहरूको माग नसमेटिएको भन्दै राहत शिक्षकले असहमति जनाएका हुन् ।
नेपाल राहत शिक्षक संघका प्रतिनिधि असन्तुष्टि जनाउँदै वार्ताबाटै बाहिरिएका थिए । ४५ हजार राहत शिक्षकको माग सहमतिपत्रमा नसमेटिएको राहत शिक्षक संघले जनाएको छ ।
४५ हजार राहत शिक्षकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गरिनुपर्ने आफूहरुको माग पूरा नभएको संघले जनाएको छ । राहत शिक्षक संघले नेपाल शिक्षक महासंघबाट अलग हुने बताउँदै माइतीघर मण्डलामा ४० हजार राहत शिक्षक संयुक्त रुपमा राजीनामा दिएर आन्दोलनमा उत्रिने चेतावनी दिएको छ ।