
काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभामा ६ जना उम्मेदवारको नाम टुंगो लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले गठबन्धन भित्र माओवादीले पाएका ६ सिटका लागि उम्मेदवारको टुंगो लगाएको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।
उनका अनुसार कोशीबाट महिला कोटामा चम्मादेवी कार्की, बागमतीमा अन्यतर्फ श्रीकृष्ण अधिकारी, गण्डकीमा महिलातर्फ मनरूपा शर्मा, लुम्बिनीमा अन्यमा झक्कु सुवेदी, कणर्ालीमा दलित कोटामा विष्णु विश्वकर्मा र सुदूरपश्चिममा महिला कोटामा रेणु चन्दको नाम टुंगो लगाएको हो ।
यता माओवादी केन्द्रका सचिव गणेश साहले भने ३ महिला १ अपांग र २ अन्य गरी ६ वटा सिटमा उम्मेदवारी दिन लागेको जानकारी दिए । उनले भने, ’६ जनाको नाममा छलफल अन्तिम चरणमा पुगेको छ ।
नेपालको संविधानमा राष्ट्रियसभाका एक तिहाई सदस्यको पदावधि २०८० फागुन २० गते समाप्त हुन लागेको र राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ बमोजिम पद रिक्त हुनुभन्दा ३५ दिन पहिले निर्वाचन गरिसक्नुपर्ने कानुनी व्यवस्था छ । आगामी फागुन २० गते निर्वाचित १९ र सरकारबाट मनोनित एक गरी २० सदस्यको पद रिक्त हुँदैछ ।
आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि १२ राजनीतिक दल दर्ता भएका छन् । सरकारमा रहेका दलहरुले गठबन्धन गरेर निर्वाचन लड्ने सहमति गरेका छन् ।
नेपाली कांग्रेसका मुख्य सचेतक रमेश लेखकका अनुसार नेपाली कांग्रेसले १०, नेकपा माओवादी केन्द्रले ६,नेकपा एकीकृत समाजवादी पार्टीले २ र जनता समाजवादी पार्टीले १ सिट पाउने भएका छन् । माओवादी केन्द्रले मधेशबाहेक कोशी, बागमती, गण्डकी, लुम्बिनी, कणर्ाली र सुदूरपश्चिममा एक/एक सिटमा उम्मेदवार उठाउने भएको छ ।
पदावधि सकिनेमा एमालेका ९ जना छन्, जसमा एमाले सरकारले आफ्नो तर्फबाट मनोनित सिफारिस गरेको विमला राई पौड्याल पनि छिन् । त्यसैगरी कांग्रेसका ४, माओवादी केन्द्रका ३, एकीकृत समाजवादीका २, जसपाको एक र स्वतन्त्र एक जना सांसद छन् । पौड्यालबाहेक बाँकी १९ पदका लागि निर्वाचन हुँदैछ भने एक जनालाई सरकारले मनोनित सिफारिस गर्नेछन् ।
राष्ट्रिय जनगणना २०७८ को नतिजाबमोजिम राष्ट्रियसभा सदस्यको अब रिक्त हुने पदको निर्वाचनका लागि मतदाता रहेका प्रदेशसभा सदस्यको ५३ र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखको १९ मतभारका दरले गणना हुने गरी निर्वाचन आयोगबाट निणर्य भएको भइसकेको छ ।