
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मेलम्चीको पानी उद्घाटन गरेर राजनीतिक स्टन्ट मात्र गरेको टिप्पणी गर्नुभएको छ । सोमबार फेसबुकमा लामो स्टाटस लेख्दै उहाँले मेलम्ची आयोजनाको प्राविधिक जोखिको आँकलन र समाधान नगरी राजनीतिक स्टन्टकै लागि मात्र काठमाडौं ल्याउने र उद्घाटन गरेर झुक्याइएको भन्दै आक्रोश पोख्नुभएको छ ।
‘प्राविधिक जोखिमको आँकलन र समाधान नगरी उचित प्राविधिक अध्ययनबिना राजनैतिक स्टन्टकै लागि मात्र मेलम्चीको पानी काठमाडौं ल्याउन खोज्नु उद्घाटन गर्दै झुक्याउने सिलसिलाको पछिल्लो कडी मात्रै हो’ मेयर शाहले भन्नुभएको छ । २०७७ सालमा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले मेलम्चीको पानी काठमाडौ झार्ने कीर्तिमानका लागि उदघाटन गरेको तर प्राविधिक पक्षलाई बेवास्ता गरेको भन्दै बालेनले त्यसपछि पनि उद्घाटनको सिलसिला नै चलेको टिप्पणी गर्नुभएको छ ।
अहिले पनि मेलम्ची खानेपानीको मुहानको पूर्वतिरको डाँडा पहिरोको जोखिममा रहेको र त्यो झरेर कुनै पनि बेला मुहान थुनिन सक्ने उहाँले उल्लेख गर्नुभएको छ । हिउँदमा पनि लेदो नथिग्राइ सिधै डाइभर्सन क्यानलबाट पानी सुरूङमा लैजादा त्यसमा भएका बालुवा सुरूङमा विस्तारै थिग्रिएर केही समय पछि सुरूङ पुरै बालुवा र लेदोले भरिएर लामो समय पानी आपूर्ति बन्द हुन सक्ने उहाँले भन्नुभएको छ ।
छिटोको नाममा नागरिकतहबाट पनि कमसल परिणामका लागि दबाब दिने भन्दा क्षणिकलाभका लागि प्रशासनिक संयन्त्र र राजनैतिक नेतृत्वको दुरूपयोग रोक्न बन्नु पर्ने संरचनाहरू बनेका छन् कि छैनन् भन्ने जानेर त्यतातर्फ दबाब बढाउन आवश्यक छ ।’ मेयर शाहले भन्नुभएको छ, ‘हामी आलोचना मात्र गर्न चाहन्नौँ । यति चाहन्छौँ, बाह्रै महिना चौबिसै घण्टा पानी आओस् । हरेक पल्ट भन्ने गरेका छौँ, हामी केन्द्र सरकारसँग सहकार्य गर्न चाहन्छौँ । यो मौका दिनु हुनेछ भन्ने आशा लिएका छौँ । सहकार्यबाट दिगो परिणाम ल्याएर भन्न पाइयोस् धन्यवाद, हाम्रो मन साच्चै नै जित्नु भयो भनेर ।