
धरान । धरान उपमहानगरका मेयर हर्कराज राई (साम्पाङ)ले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कायममुकायम उपकुलपति प्रा.डा. प्रल्हाद कार्कीको कार्यकक्षमा ताला लगाएका छन् ।
मोटरसाइकल चढेर एक्लै प्रतिष्ठानमा पुगेका मेयर साम्पाङले शिक्षक, कर्मचारी र चिकित्सकको आन्दोलनप्रति एक्बद्धता जनाए । त्यसपछि उपकुलपतिको कार्यकक्षमा गएर ताला लगाएका हुन् ।
कामु उपकुलपति कार्कीले शिक्षक, कर्मचारी र चिकित्सकका माग सम्बोधन नगरेकाले तालाबन्दी गर्नु परेको मेयर साम्पाङको भनाइ छ । आफूले लगाएको ताला नखोल्न पनि चेतावनी दिए ।
मेयर साम्पाङले ताला लगाउँदै भने, बीपी प्रतिष्ठानको उपकुलपतिको कार्यकक्षमा लगाएको ताला अरुले खोल्ने आँट नगरुन्, आवश्यक परेका वेला म आफैं आएर खोल्छु ।
बीपी प्रतिष्ठानलाई धरासायी बनाउने कुनै पनि पदाधिकारीलाई नछाड्ने मेयर साम्पाङको भनाइ थियो । उपकुलपतिको कार्यकक्षमा ताला लगाएपछि उनी आफ्नो कार्यालयमा फर्केका थिए ।