
काठमाडौं । गत पुस महीनामा घरजग्गा किनबेच बढेको देखिएको छ । पुसमा देशभरिका मालपोत कार्यालयबाट ४५ हजार २७७ वटा घरजग्गा किनबेच भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांक छ । यो मंसीरका तुलनामा ८.१ प्रतिशत धेरै हो । पुसको कारोबार यो आर्थिक वर्षकै सर्वाधिक धेरै पनि हो ।
गत साउनयता कुनै महीना पनि यो परिमाणमा घरजग्गा किनबेच भएको थिएन । यसअघि मंसीरमा सर्वाधिक धेरै ४१ हजार ८५१ वटा घरजग्गा किनबेच भएका थिए । यो आर्थिक वर्षको सर्वाधिक थोरै घरजग्गा किनबेच कात्तिकमा भएको थियो । दशैंतिहारका कारण आधाभन्दा बढी दिन सरकारी कार्यालय बन्द भएका कारण कात्तिकमा २६ हजार ४६ वटा मात्रै घरजग्गा किनबेच भएका थिए ।
जग्गाको कित्ताकाटलाई सरकारले खुकुलो बनाएको तथा बैंक तथा वित्तीय संस्थाको ब्याजदर पनि घटिरहेकाले पछिल्ला महीनामा घरजग्गाको किनबेच बढ्न थालेको आकलन छ । पुसमा घरजग्गा कारोबारबाट सरकारले तीन अर्ब २० करोड रुपैयाँ राजस्व पनि संकलन गरेको छ । मंसीरमा घरजग्गा कारोबारबाट रु. दुई अर्ब ८६ करोड राजस्व संकलन भएको थियो । मंसीरको तुलनामा पुसमा राजस्व संकलन ३४ करोड रुपैयाँले बढेको हो ।
लामो समय शिथिल बनेको घरजग्गा कारोबारलाई चलायमान बनाउन सरकारले एकपछि अर्को अनुकूल नीति लागू गरिरहेको छ । सरकारले गत साउनमा कित्ताकाट खुलाएको थियो भने नेपाल राष्ट्र बैंकले घरजग्गा क्षेत्रमा जाने बैंकको कर्जालाई सजिलो बनाइदिएको छ । यसको प्रभाव घरजग्गा किनबेचमा परिरहेको छ ।
यद्यपि घरजग्गा कारोबारले अपेक्षित गति लिन सकेको छैन । दुई वर्षअघि एकै महीनामा ७० हजार हाराहारीमा घरजग्गा किनबेच हुने गरेकोमा २०७९ वैशाखपछि घरजग्गा बजारमा शिथिलता देखिंदै आएको छ । दुई वर्षअघि २०७८ पुसमा देशभरि ७० हजार १६८ वटा घरजग्गा सम्बन्धी कारोबार भएका थिए ।
भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार गत पुसमा सबैभन्दा धेरै घरजग्गा किनबेच इनरुवा मालपोत कार्यालयबाट भएको थियो । इनरुवा मालपोत कार्यालयले एक हजार ९३७ वटा घरजग्गा किनबेचको लिखत पारित गरेको छ । यस्तै, भद्रपुरमा एक हजार ७४३, मोरङ बेलबारीमा एक हजार ६५०, जनकपुरमा एक हजार ५२०, राजविराजमा एक हजार २६० वटा घरजग्गा कारोबार भए ।
काठमाडौंमा घट्यो
काठमाडौं उपत्यकामा भने घरजग्गा कारोबार सुस्त नै छ । पुसमा उपत्यकाभरिका नौ वटा मालपोत कार्यालयबाट दुई हजार ६५५ वटा घरजग्गाको लिखत पारित भयो । उपत्यकाभरिका नौ वटा मालपोत कार्यालयबाट मंसीरमा तीन हजार १७६ वटा घरजग्गाको कारोबार भएको थियो । यसले मंसीरको भन्दा पनि काठमाडौंमा पुसमा घरजग्गा कारोबार घटेको देखाउँछ ।
कारोबार तीव्र गतिमा भएको दुई वर्षअघिका तुलनामा काठमाडौं उपत्यकाको घरजग्गा कारोबार एकतिहाइमा ओर्लिएको छ । २०७८ पुसमा काठमाडौं उपत्यकामा आठ हजार ३८७ वटा घरजग्गाको किनबेच भएको थियो ।
पुसमा काठमाडौं उपत्यकामध्ये सबैभन्दा धेरै घरजग्गा कारोबार भक्तपुर मालपोत कार्यालयबाट भएको छ । त्यहाँबाट ८७७ वटा लिखत पारित भएको छ । कलंकीबाट ६५०, चाबहिलबाट ४०८, साँखुबाट ४०७, डिल्लीबजारबाट १६१ र टोखाबाट १३७ वटा लिखत पारित भएका छन् । लगनखेल र मनमैजु मालपोत कार्यालयबाट पुसमा एउटा पनि घरजग्गा किनबेच भएन ।