
धादिङ । हामी सबैको साझा महान तथा गौरबशाली संगठन राष्ट्रिय दलित पत्रकार संघ नेपाल, श्रमजीवी दलित पत्रकार मात्र होइन, लाखौ दलित समुदायहरुको साझा संगठन हो । यो संगठनले दलित समुदायहरुले भोग्नु परेका जातीय विभेद तथा छुवाछूत जस्ता मानवता विरोधी घटनादेखि समाजमा लुकेका र लुकाईएका सम्पूणर् घटनाहरुलाई उजागर गर्ने र सिंगो दलित समुदायलाई आफ्नो मुक्तिका लागि संबैधानिक मौलिक हकहरुले दिएका अधिकारहरुको कार्यान्वयन गराउने सवालमा राज्यलाई दबाद सृजना गर्ने कामहरु गर्दै आएको छ । यस कार्यलाई थप प्रभावकारी बनाउन यो संघको केन्द्रीय समितिको ऐतिहासिक पूणर् बैठक यही माघ २० गते ऐतिहासिक तथा पर्यटकीय ठाउँ धादिङवेशीमा संघका केन्द्रीय अध्यक्ष विनोद पहाडीको अध्यक्षतामा बसी महत्वपूणर् तथा दूरगामी निणर्यहरु गरेको जानकारी गराउँदछौ ।
राष्ट्रिय दलित पत्रकार संघको बैठकले संघको वार्षिक साधारणसभा आगामी फागुन २८ र २९ गते काठमाडौंमा गर्ने, संघका जिल्ला तथा प्रदेश कमिटीका बैठकहरु बस्ने र संघलाई तत्काल थप प्रभावकारी तथा क्रियाशिल बनाउन सिंगो टीम संगठित रुपमा लाग्ने आन्तरिक निणर्यहरु गरेको छ । यस्तै बाहिरी रुपमा संघले तत्काल गर्नुपर्ने सामाजिक मुद्धाका तथा सवालहरु बारे पनि ठोस निणर्य गरेको छ । जसमा बसौंदेखि न्यायीक छानविन हुन नसकेर शव समेत टिचिङ अस्पताल काठमाडौंमा राखिएका अजिर मिजार लगायतका घटनालाई न्यायीक छानविनका लागि जोडदार आवाज उठाउने लगायतका निणर्यहरु गर्दै यो ६ बँुदे धादिङ घोषणापत्र जारी गर्दछौ ।
१ काभ्रे पाँचखालका अजित मिजारको अन्तरजातीय विवाह गरेकै कारण २०७३ साल असार २९ गते रहस्यमय हत्या गरिएको र उनको शव ८ बर्षदेखि टिचिङ अस्पताल महाराजगञ्ज काठमाडौमा अझै सम्म राखिएकाले सो घटनाको न्यायीक छानविन र अन्त्येष्टीका लागि विशेष पहल गर्ने ।
२ सरकारी तथा गैरसरकारी निकायमा दलितहरुको मुद्धा उठाउने तथा भौतिक सहभागीता गराउने विषयमा विशेष जोड दिने ।
३ दलित पत्रकारहरुबाट संचालित सञ्चार माध्यमहरुलाई राज्यद्धारा कर छुट गर्ने व्यवस्था गर्नुपर्ने तथा पत्रपत्रिका वर्गीकरण गर्दा दलित पत्रकारबाट संचालित पत्रपत्रिका तथा सञ्चार संस्थाहरुको वर्गीकरणमा विशेष सहुलियत दिनुपर्ने । साथै सरकारी सञ्चार माध्यम, प्रेस काउन्सिल लगायतका नीतिगत तहमा दलित समुदायका सञ्चारकर्मीको प्रतिनिधित्व अनिवार्य गराइनुपर्ने ।
४ नेपाल पत्रकार महासंघ तथा राज्यद्धारा संचालित सञ्चार संस्थान तथा निकायहरुमा दलितहरुको पूणर् समानुपातिक सहभागिता गराउनुपर्ने ।
५ माथि उल्लेखित सबै मागहरु तथा मुद्धाहरु पूरा गर्नका लागि प्रधानमन्त्री, सभामुख तथा सरकारी निकायको उच्च तहमा भेटघाट तथा वार्ता सम्वाद गर्ने ।
६ धादिङको पर्यटन तथा सीप अभिवृद्धि तथा प्रवद्धनमा सञ्चार क्षेत्रबाट आवाज उठाउने । साथै बैठक सम्पन्न गर्न आवस्यक सहयोग गर्ने निलकण्ठ नगरपालिका, जनप्रतिनिधिहरु, स्थानीय दलित अधिकारकर्मी, सञ्चारकर्मी साथीहरुलाई विषेश धन्यवाद ज्ञापन गर्दछौं । विनोद पहाडी अध्यक्षद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
