काठमाडौँ । निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्न आव्हान गरेको छ । देशभर जनप्रतिनिधि खाली भएका २३ स्थानमा आयोगले उपनिर्वाचन गर्ने तयारी थालेकाले मतदाता नामावलीमा नाम दर्ता गर्न आव्हान गरेको हो । २०७९ वैशाख १० गते स्थानीय तह निर्वाचन तथा २०७९ मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन सम्पन्न भएपश्चात् स्थानीय तह, प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका २३ पदहरू रिक्त भएकाले उक्त पदहरूमा कानुन बमोजिम उपनिर्वाचन मार्फत पदपूर्ति गर्नुपर्ने अवस्था रहेको आयोगले सोमबार एक सूचना जारी गर्दै जनाएको छ ।
उपनिर्वाचनद्वारा पदपूर्ति गर्न आयोगले नेपाल सरकारसँग परामर्श गरी उपयुक्त समयमा कानुन बमोजिम उपनिर्वाचनको मिति तोक्ने गरी आन्तरिक तयारी प्रारम्भ गरेको छ । मतदाता नामावली ऐन, २०७३ को दफा ४ (२) बमोजिम निर्वाचनको मिति तोकिएपछि सोही मितिदेखि उक्त निर्वाचन प्रयोजनका लागि मतदाता नामावलीमा नाम दर्ता गर्ने कार्य स्थगित गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ । आयोगले नियमित रुपमा प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयहरू मार्फत मतदाता नामावली दर्ता गर्ने कार्य गर्दै आएको छ ।
साथै नागरिकको सहजताको लागि बाह्य जिल्लाबाट मतदाता नामावली दर्ता गर्न सकिने सुविधा समेत उपलब्ध गराएको छ । आयोगले विभिन्न कारणले मतदाता नामावलीमा नाम दर्ता गर्न छुट भएका देशभरका र विशेषतः पद रिक्त भएका स्थानीय तह, प्रदेश सभा निर्वाचन क्षेत्र र प्रतिनिधि सभा निर्वाचन क्षेत्रभित्रका योग्यता पुगेका नेपाली नागरिकलाई उपनिर्वाचनको मिति घोषणा हुनु पूर्व नै मतदाता नामावलीमा नाम दर्ता गर्न आयोग ले आव्हान गरेको छ ।
निर्वाचन हुने स्थानहरू