नयाँ वर्षसंगै ठमेल र दरबारमार्ग क्षेत्र अब २४सै घण्टा खुला रहने


काठमाडौं । संघीय राजधानी काठमाडौंका दुई पर्यटकीय क्षेत्र ठमेल र दरबारमार्ग अबदेखि पूणर्कालीन (२४सै घण्टा) खुला रहने भएका छन् । ठमेल पर्यटन विकास परिषद् र दरबारमार्ग विकास बोर्डले ठमेलमा शनिबार गरेको कार्यक्रममा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले व्यवसाय चौबिसै घण्टा खुला हुने घोषणा गरेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री लामिछानेले काठमाडौंलाई चलायमान बनाउनका लागि ठमेल र दरबारमार्गलाई पूणर्कालीन सञ्चालन गर्ने निणर्य गरेको बताए । उनले भने, ‘काठमाडौं अलिकति चलायमान क्षेत्र बनोस् भन्नका लागि हामी ठमेल क्षेत्रलाई पूणर्कालीन खुलाउने निणर्य गरेका हौं । सुरक्षाको जिम्मा सरकारले लिनेछ, गृह मन्त्रालयले लिनेछ ।’

देश र समाजलाई उत्कृष्ट बनाउनका लागि नागरिकको रुपमा सबैले कर्तव्यको पालना गर्नुपर्ने उल्लेख गर्दै सुसंस्कृत सहरका रुपमा स्थापित गर्न चाहेको उनले बताए । उनले भने, ‘विदेशमा हामी फोहोर गर्नुभन्दा पहिले सोच्छौं तर नेपालमा त्यो पालना गर्दैनौं । यदि देश र समाज उत्कृष्ट चाहिन्छ भने नागरिकका रुपमा पनि हामीले केही न केही कर्तव्य त पालना गर्नैपर्ने हुन्छ ।

ठमेललाई ठमेल बनाउन, दरबारमार्गलाई दरबारमार्ग बनाउन हामी जनताबाट जरिवाना तिराएर होइन, सुसंस्कृत सहरका रुपमा अगाडि लिएर जान चाहन्छौं । संसारका कयौं देश छन् जहाँ थुकेको र कागज पालेको समेत पैसा लाग्छ । पाइला पाइलामा जरिवाना तिराइन्छ । तर, हामी त्यस्तो गर्दैनौं । नयाँ वर्ष २०८१ सालको शुभकामना दिँदै उनले आउँदो वर्षलाई इमानदारितापूर्वक अगाडि बढाउने बताए ।

उनले भने, ‘इमानदारिताका साथ नयाँ वर्षलाई इमानदारिताका साथ अगाडि बनाउने छौं । राम्रो कति गर्न सक्छौं थाहा छैन तर नराम्रो एउटा पनि गर्ने छैनौं । २०८१ साल केही काम देखिने वर्ष हो । यो वर्ष केही न केही हुनेछ । युवाहरु सरकारमा आउँदा केही न केही परिवर्तन हुँदो रहेछ भन्ने संकेत देखिएको छ । हामी यसलाई कार्यरुप दिनका लागि लागिपरेका छौं ।


सम्बन्धित खवर