एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक, ओलीको नरम प्रस्तावको नाटक के हो ?


काठमाडौं । यसअघि आफूविरुद्धमा बनेको गठबन्धनका दलविरुद्ध आक्रामक बन्दै आएका नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् प्रथम बैठकको राजनीतिक प्रस्तावमा भने विपक्षी दलप्रति नरम नीति लिएका छन् । शनिवार गोदावरीमा उद्घाटन भाषणका क्रममा ओलीले सहयात्री दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा (एकीकृत समाजवादी)प्रति अनुदार टिप्पणी गरेका थिए । ओलीले रास्वपा वैकल्पिक नभइ स्वार्थ समूह भएको आरोप लगाए । ‘पपुलिस्ट कुरा गर्नेले असन्तुष्टिको उजागर मात्रै गर्न सक्छन् तर समाधान दिन सक्दैनन् । समाधान दिने विचार, कार्यक्रम र दृष्टिकोण भएकाले हो,’ उनले भने, ‘विचार, दर्शन र सही अर्थ राजनीतिक कार्यदिशा नभएकाहरू स्वार्थ समूह हुन् । यिनले स्वार्थभन्दा अरु हेर्दैनन् । यिनीहरू वैकल्पिक शक्ति पनि हुन सक्दैनन् ।’ माधवकुमार नेपालप्रति पनि उनले रोष प्रकट गरेका थिए । एमाले फुटाउने उनको पार्टी एकीकृत समाजवादी जनताबाटै अस्वीकृत भएको उनले बताए ।

‘कम्युनिस्ट आन्दोलन विभाजित गर्न सकिन्छ, सरकार ढाल्दै पुँजीपति वर्गको नेतृत्वमा नयाँ सरकार बनाउन खोज्ने दक्षिणपन्थी अवसरवाद नै कमजोर हुन पुगेको छ । हाम्रा पार्टीकाविरुद्धमा प्रयोग गर्न खोजिएको प्रयोग अन्ततः जनमतबाटै अस्वीकृत हुँदै पराजित हुन पुगेको छ ।’ तर बैठकको मूल राजनीतिक प्रस्तावमा भने ओलीले यी दुवै दलमात्रै होइन सत्ताको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र)लाई पनि झस्काउने टिप्पणी गरे । तर उनले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसप्रति खरो टिप्पणीमात्रै छैन, मिलेर जान सकिने प्रष्टै सन्देश पनि दिएका छन् ।

प्रमुख दलबीच संवाद र न्यूनतम समझदारी आवश्यक रहेको भन्दै ओलीले मुख्य विषयमा प्रमुख प्रतिपक्षी दल कांग्रेससँग पनि संवाद हुन सक्ने बताएका छन् । वामपन्थी एकता वा ध्रुवीकरणलाई ओलीले लगभग खारेज नै गरिदिएका छन् । ‘मुलुकमा जस्ता गम्भीर समस्याहरू छन्, तिनको समाधानका लागि सबै राजनीतिक पार्टीमाझ निरन्तर संवाद आवश्यक छ । मुख्य प्रश्नहरूमा न्यूनतम समझदारीको खाँचो छ । अनि, विचार मिल्नेहरूमाझ सहकार्य आवश्यक छ,’ ओलीको राजनीतिक शक्ति सन्तुलन र पार्टीहरूबीचको सम्बन्ध शीर्षकको प्रस्तावमा उल्लेख छ, ‘त्यसैले यति नै बेला निश्चित दल, विचार या शक्तिलाई निषेध गर्नेगरी अगाडि बढाइने वामपन्थी एकता या समाजवादी ध्रुव या अन्य कुनै नाममा गरिने ध्रुवीकरण उचित, व्यावहारिक र लाभदायी हुँदैन ।’

सहकार्य र विश्वासको वातावरण बने विचार मिल्ने एक ठाउँमा आउन सक्ने भने पनि यसमा पनि उनले ‘शर्त’ राखेका छन् । ‘सहकार्य गहिरो र विश्वासको वातावरण निर्माण हुँदै जाँदा भोलि विचार मिल्नेहरू क्रमशः एकै ठाउँ हुँदै जानेछन्,’ ओलीले भनेका छन्, ‘त्यसो हुनु पनि पर्छ । तर आजका दिनमा भने सबै सकारात्मक शक्तिहरूलाई साथ लिएर अगाडि बढ्नु बढी महत्वपूणर् छ ।’ फागुन २१ मा सत्ता समीकरण बदलेर वामपन्थीबीच एकतासम्मै पुग्नेसम्मको तयारी गरेको माओवादी केन्द्रलाई ओलीले रातो झण्डा देखाएका हुन् । पछिल्लो सत्ता समीकरणका निश्चित उद्देश्यमात्रै रहेको भन्दै ओलीले एकतासम्मै पुग्ने कुनै तयारी नरहेको प्रष्टै सन्देश प्रस्तावमा दिएका हुन् ।

निश्चित विचारभन्दा राष्ट्रियहित र रक्षाका लागि मात्रै सत्ता परिवर्तन गर्नुपरेको उनको भनाइ छ । ‘यो सत्ता सहकार्य मुलुकका समस्या समाधानका लागि हो- सत्ता परिवर्तन या प्राप्तिका लागि मात्रै होइन । यो राष्ट्रियतालाई बलियो बनाउने र राष्ट्रियहित र स्वाभिमानको रक्षा गर्ने, सुशासनलाई प्रत्याभूत गर्ने, लोकतन्त्रको रक्षा र विकास गर्ने, विकास र समृद्धिको यात्रालाई गति दिने तथा जनतामा आशा र भरोसा जगाउने साझा सङ्कल्पका साथ स्थापना भएको समीकरण हो,’ प्रस्तावमा उल्लेख छ, ‘यसलाई निश्चित राजनीतिक विचारधाराले भन्दा पनि यिनै विषयहरूले दिशानिर्देश गरिरहेका छन् ।’

अचानक सत्ता गुमाउनु पर्दा कांग्रेस हतास भएर रास्वपा र अन्य दलका नेतालाई प्रधानमन्त्री प्रस्ताव गर्दै हिँडेको र प्रतिशोधमा उत्रिएको ओलीले बताएका छन् । तर यद्यपि सहकारीका गम्भीर समस्या समाधानमा एमाले स्पष्ट रहेको ओलीले प्रतिवेदनमा उल्लेख गरेका छन् । ‘सहकारी क्षेत्रमा गम्भीर समस्या देखा परेका छन्, वचतकर्ताहरूको अबौँ रकम हिनामिना भएको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘यसको गम्भीर छानबिन गरी दोषीहरूलाई कानूनी कारबाही गरिनु पर्छ । यस विषयमा पार्टी स्पष्ट छ ।’ ओलीले केहीदिनअघि झापा पुगेर केही नेताले सहकारीलाई ठगी खाने भाँडो बनाएको बताएका थिए । सत्ता सहयात्री दल उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका रास्वपाका सभापति रवि लामिछानेको नाम नलिए पनि ओलीको संकेत उनैप्रति लक्षित रहेको देखिन्छ ।

कांग्रेस हतास देखिएको बताए पनि ओलीले सबैसँग सार्थक संवादको पक्षमा आफू रहेको प्रस्तावमै प्रष्टै उल्लेख गरेका छन् । ‘हिजोको सत्ता गठबन्धनले एमालेप्रति प्रतिशोध, मुठभेड र निषेधको नीति लियो । महत्वपूणर् राष्ट्रिय प्रश्नहरूमा प्रतिपक्षलाई साथमा नलिने मात्र होइन, जानकारी दिने न्यूनतम औपचारिकतासम्म पूरा गरेन । राष्ट्रियहितमा आघात पुर्याउने कतिपय प्रश्नमा गोप्य सहमतिहरू गरिए,’ प्रस्तावमा भनिएको छ, ‘त्यो अलोकतान्त्रिक र अराजनीतिक तरिका थियो । हामी त्यसो गर्ने छैनौं । मुलुकको परराष्ट्र नीति, राष्ट्रिय सुरक्षा, विकास र पूर्वाधारका राष्ट्रिय एजेण्डा, सङ्क्रमणकालीन न्याय र संवैधानिक प्रश्नमा प्रतिपक्ष लगायत सबैसँग सार्थक संवाद गर्ने हाम्रो नीति हुनेछ ।’

अध्यक्ष ओलीले मात्रै होइन एमालेका अन्य प्रभावशाली नेताले समेत कांग्रेस र एमाले मिल्न सक्ने विषयलाई नकारेनन् । गोदावरीको कार्यक्रममा भेटिएका ईश्वर पोखरेल, विन्दा पाण्डेसहितका नेताले कांग्रेस र एमाले मिल्न सक्ने स्थितिमा रहेको बताएका छन् । एमाले नेतृ विन्दा पाण्डे स्वार्थपूणर् रुपमा बन्दै आएका गठबन्धन जतिखेर पनि ढल्न सक्ने बताउँछिन् । ‘स्वार्थपूणर् गठबन्धन जतिखेर जे पनि हुन सक्छ । नागरिकमा नै यस्तो अनुभूति भइरहेको छ । नागरिकमा उत्साह हुने छैन । संघीयतामा प्रश्न उठेको छ । यसको बारेमा जिम्मेवार दलले सोच्नुपर्छ,’ पाण्डेले लोकान्तरसँग भनिन्, ‘कुनै पनि बेला गठबन्धन बन्न र ढल्न सक्छ । यसमा पार्टी पोजिसन र धारणा बनाइराख्नु पर्दैन ।’

अर्का नेता योगेश भट्टराईले समीकरण अस्थायी नभए पनि सबै दलसँग एमालेले संवाद गर्ने बताए । ‘यो समीकरण अस्थायी वा तत्कालका लागि बनाएका होइनौं । विकल्पमा एमालेभित्र छलफल-बहस हुन सक्छन् । तर हामी सबैसँग राम्रो सम्बन्ध राखेर जान चाहन्छौं,’ भट्टराईले भने, ‘एमाले र कांग्रेस कसरी मिलेर जान सकिन्छ भनेर छलफल गरेका छौं । यो भनेको सरकारका लागि मात्रै भनेको होइन ।’ नेता भट्टराईसहितका नेताले एमालेको यो कार्यक्रमका लागि कांग्रेस सभापति शेरबहादुर देउवालाई निम्तो दिएका थिए । आइतवार देउवा एमालेको यो कार्यक्रममा वक्ता बनेर आउँदैछन् । पछिल्लो समय कांग्रेस र एमालेका दोस्रो तहका नेताहरू दुई दल मिलेर अगाडि बढ्नुपर्ने विषयमा बोल्दै आएका छन् । यही बेला ओलीले समेत राजनीतिक प्रस्तावमा कांग्रेससँग मिलेर जान सकिने आशय व्यक्त गर्नुलाई अर्थपूणर् रुपमा हेरिएको छ ।


सम्बन्धित खवर