
काठमाडौ । नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक १५ बुँदे समसामयिक प्रस्ताव पारित गर्दै सकिएको छ । आइतबार समापन समारोहमा एमालेका उपमहासचिव विष्णु रिमालले १५ बुँदे समसामयिक प्रस्ताव प्रस्तुत गरेपछि बैठकहलबाट अनुमोदन भएको हो । बैठकले पार्टी शुद्धीकरण तथा सुदृढीकरणसम्बन्धी प्रस्ताव पनि पारित गरेको छ । बैठकले फागुन २१ गते बनेको पाँच दलबीच भएको नयाँ सत्ता सहकार्यको स्वागत गर्दै सरकार सफल बनाउने घोषणा गरेको छ ।
पाँच दलले जारी गरेको गरेको साझा संकल्प तथा कार्यक्रमले मुख्य समस्या सम्बोधन गर्न र मुलुकलाई अघि बढाउन तालिकाबद्ध र प्रभावकारी रुपमा कार्यान्वयन गर्न बैठकले आग्रह गरेको उपमहासचिव रिमालले जानकारी दिए । बैठकले दलहरुबीचको नयाँ समिकरणलाई कमजोर बनाउने कुनै काम नगर्न र मुलुकलाई थप अस्थीर र अन्यौल तर्फ ढकेल्ने काम प्रति सजक रहन तथा राष्ट्रियता लोकतन्त्र र जनताको हितलाई थप जोखिममा पर्ने काम हुन नदिन आह्वान गरेको उनले बताए ।
आर्थिक मन्दी, भ्रष्टाचार, राज्य सञ्चालनमा देखिएको बेथितिका कारण समाजमा देखिएको नैराश्यतालाई चिर्न सरकारलाई आह्वान गरेको उनको भनाई छ । बैठकले भ्रष्टाचारबिरुद्ध सम्झौताहिन ढंगले प्रस्तुत हुन, यसका बिरुद्ध जेहाद छेड्न र कानूनका नजरमा सवै बराबर छ भन्ने कुरा व्यवहारबाट देखाउन सरकारसंग माग गरिएको उपमहासचिव रिमालले बताए । बैठकले सहकारीहरुमा देखिएका समस्या र बेथिति अन्त्यका लागि निष्पक्ष छानविन गरि दोषीलाई कानुनी कठघरामा ल्याइ बचतकर्ताको रकम फिर्ता हुने वातावरण बनाउन सरकारसँग माग गरेको रिमालले जानकारी दिए । उनले बैशाख १५ गते हुने उपनिर्वाचनमा एमालेको उम्मेदवारलाई जिताउन समेत आह्वान गरे ।
शनिबार पहिलो दिन बैठकको अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, महासचिव शंकर पोखरेलको सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यसैगरी, केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव बडाल, केन्द्रीय लेखा आयोगका अध्यक्ष पुष्पराज कँडेल, केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बा र केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहराले आयोगको तर्फबाट आ-आफ्ना प्रतिवेदन पेस गरेका थिए। ६ वटै प्रतिवेदनमाथि आइतबार समूहगत छलफल गरेर सुझावहरूसहित पारित भएको हो ।
साथै, अध्यक्ष केपी शर्मा ओली बिरामी भएपछि आइतबारको परिषद् बैठकको अध्यक्षता गरेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गरेका थिए । पोखरेलले दसौँ महाधिवेशन यता पार्टीले गरेका काम कारबाही र आगामी दिनमा गर्नुपर्ने कामहरूबारे वस्तुनिष्ठ समीक्षा गर्न परिषद् बैठक सफल भएको दाबी गरे । उनले भने,‘परिषद् बैठकले गरेका निणर्यहरू पार्टीका लागि मार्गदर्शक बन्न सक्ने भन्दै यो बीचमा एमालेले थालनी गरेका कामहरूलाई एमालेले गर्नसक्ला भनेर प्रश्न गरेपनि थालेका कामहरू सफलतापूर्वक सम्पन्न गर्न सफल भएको छ ।’ उनले एमाले आफैं राष्ट्रिय शक्ति भएकाले निणर्ायक शक्ति बनाउन योजनाबद्ध तरिका अगाडि बढ्न आग्रह गरे । उनले एमाले कमजोर हुँदा मुलुक कमजोर हुने जिकिर गरे । जनतामा लोकप्रिय रहेका व्यक्तिलाई एमालेको नेतृत्वमा ल्याउनुपर्ने धारणा राखे ।