
काठमाडौँ । कोसी प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान हुने भएको छ । कोसीका प्रदेश प्रमुख परशुराम खापुङले संघीय सरकारका महान्यायाधिवक्ता डा. दीनमणि पोखरेलसँग कानुनी राय लिएर मुख्यमन्त्रीमा दाबी आह्वान गर्न लागेका हुन् । महान्यायाधिवक्ता पोखरेलले सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनसम्बन्धी फैसलालाई आधार मानी कानुनी राय दिइसकेका छन् ।
संविधानको धारा १८८ को उपाधारा २ बमोजिम नयाँ सरकार गठनका लागि आह्वान गर्न सकिने महान्यायाधिवक्ताको रायबमोजिम सूचना जारी गर्ने तयारी भइरहेको प्रदेश प्रमुखको कार्यालय स्रोतले जनाएको छ । संसदले विकल्प दिने सामर्थ्य राख्दासम्म सदन विघटन हुँदैन भन्ने सर्वोच्च अदालतको व्याख्या छ । यो हाम्रो अदालतले २०५१ देखि नै अंगीकार गरेको सिद्धान्त हो, महान्यायाधिवक्तासँगको परामर्शपछि प्रदेश प्रमुख कार्यालयको निष्कर्षबारे स्रोतले भन्यो, ‘बहुमत गुमाएको सरकार राखिइरन पनि मिल्दैन ।
त्यसैले उपधारा २ अनुसार नै मुख्यमन्त्रीमा दाबी गर्न आह्वान हुन्छ । कोसीमा अहिले संविधानको धारा १८८ उपधारा ५ बमोजिमको सरकार छ। उक्त उपधाराअनुसार प्रदेश सभाका सदस्यहरूमध्ये जोकोहीले बहुमतको आधार प्रस्तुत गरी मुख्यमन्त्रीमा दाबी गर्न सक्छन्। यस धारामा दलको ह्वीप पनि नलाग्ने सर्वोच्चको व्याख्या छ । उपधारा ५ बाट पुनः उपधारा २ मा फर्काउने तयारी भएको हो। उपधारा २ मा दुई वा बढी दलको समर्थनमा मुख्यमन्त्रीमा दाबी गर्नुपर्छ ।
हालका मुख्यमन्त्री केदार कार्कीले बहुमतको समर्थन गुमाएको महिना दिन बित्न लाग्दा पनि विश्वासको मत लिन प्रदेशसभालाई सूचना दिएका छैनन् । कांग्रेसबाट निर्वाचित सांसद कार्की एमाले र माओवादीको समर्थनमा मुख्यमन्त्री चयन भएका हुन् । एमाले र माओवादीले समर्थन फिर्ता लिएको बुधबार राति १२ बजे ३० दिन पूरा हुँदै छ । केन्द्रको सत्ता गठबन्धन एमाले र माओवादीले वैकल्पिक सरकार बनाउन आफूहरू तयार रहेको जनाउँदै प्रदेश प्रमुखलाई पत्र बुझाइसकेका छन् ।
साथै, मुख्यमन्त्री कार्की राजनीतिक र संवैधानिक हैसियत गुमाई स्वतः पदमुक्त हुने भएकाले नयाँ सरकार गठनका लागि आह्वान गर्न एमाले र माओवादी संसदीय दलका नेताहरूले प्रदेश प्रमुख खापुङसमक्ष आजै ध्यानाकर्षणपत्र बुझाएका थिए । कोसीमा नयाँ सरकार गठनको माग गर्दै प्रदेश प्रमुखलाई गठबन्धनको पत्र, प्रदेश प्रमुख खापुङले कानुनी परामर्शपछि उचित निणर्य लिने बताएका थिए ।
एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण खनालले आफूहरू बहुमतसहित सरकार गठनको दाबी लिएर जान तयारी अवस्थामा रहेको नेपालखबरलाई जानकारी दिए । ९३ सदस्यीय कोसी प्रदेश सभामा एमाले र माओवादीको स्पष्ट बहुमत छ । ५२ सांसदको समर्थनमा एमाले संसदीय दलका नेता हिक्मतबहादुर कार्कीलाई मुख्यमन्त्रीमा अघि सार्ने तयारी गठबन्धनले गरेको छ ।