
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले अहिलेको सत्ता गठबन्धन परिवर्तन हुन सक्ने बताएका छन् । एकीकृत समाजवादीको सोमबार बसेको पोलिटब्यूरो बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै अहिलेको सत्ता समीकरण बदलिन सक्ने बताएका हुन् । उनले अहिलेको समीकरण तात्कालिक सहकार्य मात्रै भएको उल्लेख गरेका छन् ।
नेपालको राजनीतिक प्रतिवेदनमा भनिएको छ, अहिले हामी संसद्भित्र रहेका विभिन्न राजनीतिक दलहरू सम्मिलित समीकरणमा पनि छौं । यो समीकरण संयुक्त मोर्चा होइन, तात्कालिक राजनीतिक सहकार्य मात्र हो ।
यो समीकरण दीर्घकालीन नभएकाले बदलिन सक्ने उनले जनाएका छन् । ‘यो समीकरण वर्तमान संसद्को संरचना अनुसार सरकार निर्माण र सञ्चालनका निम्ति बनाइएको हो । यो दीर्घकालीन होइन, तात्कालिक राजनीतिक सहकार्य मात्र हो, नेपालले प्रतिवेदनमा भनेका छन्, ‘त्यसैले तात्कालिक राजनीतिक परिस्थिति बदलियो भने यस्तो तात्कालिक राजनीतिक समीकरण वा सहकार्य पनि बदलिन सक्छ ।
त्यस्तै, उनले तत्काल वाम एकताको सम्भावना पनि नभएको जनाएका छन् । एकीकृत समाजवादीले नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा), नेपालसँग एकताका लागि पहल पनि गरेको थियो । तर अहिले एकताको सम्भावना नरहेको नेपालको भनाइ छ ।
माओवादी र जसपा लगायतका पार्टीहरूसँग एकता वार्ता पनि चलाएका थियौं, प्रतिवेदनमा भनिएको छ, यस दौरान व्यवहारबाट के स्पष्ट भयो भने, अहिले तत्काल कम्युनिस्ट पार्टीहरूबीचको एकता वा वाम एकता सम्भव छैन ।
पोलिटब्यूरो बैठकमा प्रस्तुत गरिएको ५७ पृष्ठ लामो राजनीतिक प्रतिवेदनमा अध्यक्ष नेपालले समसामयिक राजनीतिक घटनाक्रमको पनि समीक्षा गरेका छन् । उनले एकीकृत समाजवादी नीतिप्रधान पार्टी भएको उल्लेख गरेका छन् ।
नेपालले भनेका छन्, ‘यो पार्टी नेताप्रधान होइन, नीतिप्रधान हुनेछ । पार्टीमा सामूहिक नेतृत्व र व्यक्तिगत उत्तरदायित्वको कार्यपद्धति अवलम्बन गरिनेछ । पोलिटब्यूरोमा प्रस्तुत भएको राजनीतिक प्रतिवेदन आगामी महाधिवेशनका लागि तयार गरिएको हो ।