प्रचण्ड, ओली र लामिछानेबीच सिंहदरबारमा वार्ता जारी


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी ओली र गृहमन्त्रीसमेत रहेका रास्वपा सभापति रवि लामिछानेबीच सिंहदरबारमा अहिले वार्ता चलिरहेको छ । प्रचण्डसँग छलफलको लागि ओली शुक्रबार बिहान साढे १० बजे सिंहदरबार पुगेका थिए ।

ओली र प्रचण्डबीच झण्डै २० मिनेट कुराकानी भएपछि लामिछाने पनि छलफलमा पुगेका छन् । तीन नेताबीच अहिले पनि छलफल चलिरहेको स्रोतले जनाएको छ । संसद् बैठकमा बिहीबार एमाले र कांग्रेसका संसादबचि धक्कामुक्की भएको थियो ।

हिजो स्थगित भएको प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । सभामुख देवराज घिमिरेले आज बिहान ११ बजेका लागि बैठक बोलाएका छन् । तर, संसद् बैठक सुरु भएको छैन । संसद बैठकअघि आआफ्नो रणनीति तय गर्न सत्तारुढ प्रतिपक्षी दलले आन्तरिक छलफल गरिरहेका छन् ।

कांग्रेसले पनि अहिले प्रतिपक्षी दलका नेताहरुसँग छलफलको तयारी गरेको छ । नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा पार्टी संसदीय दलको बैठक बसेपछि कांग्रेसले विपक्षी दलको संयुक्त बैठक बोलाएको हो । कांग्रेस सभापति देउवाले बैठकमा सहभागिताका लागि जसपा नेपाल, राप्रपा, लोसपा, नेमकिपा, जनमोर्चालगायत दललाई बोलाएका छन् ।

उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेको नामसमेत जोडिएको सहकारीको रकम अपचलन प्रकरण अनुसन्धान गर्न संसदीय छानबिन समिति गठनको माग गर्दै कांग्रेसले केही दिनयता लगातार संसद् बैठक अवरुद्ध गरिरहेको छ ।

यसबीच उसले गृहमन्त्री लामिछानेलाई संसदमा बोल्नसमेत दिइरहेको छैन । सोही विषयमा हिजो बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा पनि एमाले र कांग्रेसका सांसदबीच धकेलाधकेल भएको थियो ।


सम्बन्धित खवर