रविमाथि संसदको अवहेलनामा कारबाही गर्न धनराजको माग


काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति एवं सांसद धनराज गुरुङले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदको अवहेलना गरेको भन्दै कारबाहीका लागि माग गरेका छन् । उनले सभामुखलाई निवेदन लेख्दै कारबाहीका लागि माग गरेका हुन् । नेता गुरुङ संसद सचिवालयमा उक्त कारबाहीको पत्र ४२ नम्बरमा दर्तासमेत गराएका छन् ।

सामाजिक सञ्जालमा उक्त पत्रसमेत राख्दै गुरुङले सम्मानित अदालतभन्दा माथि कोही नहुने भन्दै अदालतले १६ वर्ष पहिले गरेको फैसलामाथि धावा बोल्दै गृहमन्त्रीले कूटनैतिक राहदानी सम्बन्धी संसदमै मिथ्या आरोप लगाएपछि संसदमा निवेदन पेश गरेको बताएका छन् ।

उक्त पत्रमा गत आइतबार गृहमन्त्री लामिछानेले प्रतिनिधि सभाको बैठकमा तथ्यहीन, आधारहीन कुरा गरी कांग्रेसका प्रतिनिधि सभा सदस्यहरुमाथि मानमर्दन गर्न खोजेको, हुँदै नभएको कुरालाई बढाइचढाइ गरेर आम नागरिकलाई भ्रममा पार्न खोजेको नेता गुरुङले लेखेका छन् ।

अदालतले गरेको फैसलामाथि धावा बोलेको, अदालतको निणर्यको बर्खिलाप गरी अदालतको समेत अपहेलना गरेको, अदालतबाट सफाइ पाइसकेका रातो कूटनीतिक पासपोर्टको विषयलाई तोडमोड गरी भ्रम सिर्जना गरी आफूलाई अदालतभन्दा माथि राखी अभिव्यक्ति दिएकोसमेत नेता गुरुङले उल्लेख गरेका छन् । नेता गुरुङले लामिछानेले बोलेका कुराको पुष्टि गर्न चुनौती दिँदै यदि पुष्टि नभए कारबाही गर्नसमेत माग गरेका छन् ।


सम्बन्धित खवर