
काठमाडौं । संसदीय छानबिन समितिको कार्यादेश (टीओआर)का लागि गठित कार्यदलको बैठक सहमति नजिक पुगेको छ । सिंहदरबारमा शनिबार बसेको बैठक सहमति नजिक पुगेको कानुन तथा संसदीय मामिला मन्त्री पदम गिरीले बताएका छन् । उनका अनुसार सहकारीको नाम र अपचलन गरिएका कम्पनीको नाम लेख्ने विषयमा सत्तापक्ष तयार भएको छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस पनि त्यसमा लगभग सहमत भएको उनको दाबी छ । यसै विषयमा छलफल गर्न केहीबेरमै प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेससहित सत्तारुढ दलका शीर्ष नेताहरूको बैठक बस्न लागेको उनले बताए । ’बैठक सहमति नजिक पुगेको छ। टुंगोमा भने पुगेका छैनौं । केहीबेरमै बालुवाटारमा शीर्ष नेताहरूको बैठक छ । उक्त बैठकले टुंगो पुर्याउँछ भन्ने विश्वास छ,’ मन्त्री गिरीले सञ्चारकर्मीसँग भने ।
उनले संसद सञ्चालनका निम्ति सत्तापक्ष र प्रतिपक्षबीच महत्वपूणर् छलफल भएको बताए। ’सहकारी र कम्पनीको नाम लेखिसकेपछि व्यक्तिको नाम लेखिरहन पर्दैन । स्वतः संस्थासँग जोडिएका व्यक्तिहरू पर्छन् नै । सत्तापक्षको यस प्रस्ताव प्रतिपक्षी दल लगभग सहमत छ । बालुवाटारको बैठकमा सहमति जुटेर भोलिदेखि संसद चल्ने विश्वास लिएका छौं,’ उनले भने ।
यसअघि सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएका रवि लामिछानेको नाम नराखेसम्म संसद चल्न नदिने अडान कांग्रेसले यथावतै राखेको थियो । यस विषयमा कांग्रेसले भने कुनै प्रतिक्रिया दिएको छैन ।