
जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिन असफल भएका छन् । बुधबार साँझ प्रदेशसभाको बैठकमा उनले विश्वासको मत पाउन नसकेका हुन् ।
बैठकमा सहभागी १०३ सांसदमध्ये मुख्यमन्त्रीको पक्षमा ५० र विपक्षमा ५३ मत खसेको थियो । सभामुख रामचन्द्र मण्डलले उक्त संख्या कूल संख्याको बहुमत नरहेकाले मुख्यमन्त्रीले पेस गरेको प्रस्ताव अस्वीकृत गरेका थिए ।
यससँगै जनता समाजवादी पार्टी नेतृत्वको सरकार ढलेको छ । २०७४ देखि निरन्तर मधेस सरकारको नेतृत्व गरेको जसपा नेपालको सरकार ढलेको हो ।
यससँगै नयाँ सरकार गठन गर्ने बाटो पनि खुलेको छ । केन्द्रीय गठबन्धनले जनमत पार्टीको नेतृत्वमा सरकार बनाउने तयारी गरेको छ ।
यसअघि नै जनमत पार्टीले नेकपा माओवादी र नेकपा एमालेसँग सरकार बनाउने विषयमा सहमति गरेको थियो ।
यद्यपि, उसले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादीलाई पनि सरकारमा सहभागी गराउने प्रयास गरेको थियो ।
एकीकृत समाजवादीले आज विपक्षमा मतदान गरे पनि सरकारमा जाने नजाने विषयमा निणर्य गर्न सकेको छैन ।
यता ठाकुर नेतृत्वको लोसपाले भने आज मुख्यमन्त्री यादवलाई विश्वासको मत दिएका थिए । यादवलाई नेपाली कांग्रेसले पनि विश्वासको मत दिएको थियो ।