
काठमाडौं । करीब दुई हजार वर्षअघि महिला र फरक लिंगीको सम्मानसँगै योनीको पूजा गरिने तन्त्र परम्परादेखि अहिले घृणा गर्ने अवस्थासम्म पुगेको अजिमाको कथालाई वृत्तचित्रमा उतारिएको छ । काठमाडौं उपत्यकामा नेवार समुदायको घरको मुल ढोका मुनि त्रिकोणात्मक प्वालको शैलीमा एउटा आकृति बनाइएको हुन्छ, जसलाई अजिमाकोआकृति भनिन्छ । यसलाई योनीको प्रतिक मानिन्छ । तन्त्र परम्परामा योनीलाई पूजा गरिने भएकाले अझै पनि पुरानो सभ्यता रहेको स्थान र घरमा अजिमाका आकृति हुने गरेको भनाइ छ ।
यस्तै आकृति, मूर्ति र अजिमाका मन्दिरहरूमा केन्द्रित भएर अधिकारकर्मी सुनिलबाबु पन्तले वृत्तचित्र बनाएका छन्, ‘अजिमा एन्ड सिक्स जेन्डर । यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको पहिचान सहितको अधिकारका लागि वकालत गर्दै आएका अभियन्ता पन्तले निर्माण गरेको वृत्तचित्रमा मातृसत्ताको इतिहास केलाइएको छ । जहाँ उनले काठमाडौं उपत्यकामा रहेका अजिमाका मन्दिरसँगै अजिमा देवी, पितृसत्ता र मातृसत्ताका मूल्य मान्यता बीचको जटिल सम्बन्ध, मातृसत्ताले योनीलाई दिएको महत्त्व उजागर गरेका छन् ।
मातृसत्ता र पितृसत्ताको ऐतिहासिकता कुन कालखण्डको हो भन्ने अनुसन्धानकै विषय भए पनि लिच्छविकालसम्म अजिमा देवीलाई पुज्ने र मान्ने परम्परा रहेको पन्त सुनाउँछन् । विस्तारै पितृसत्ता हाबी हुँदै जाँदा मातृसत्ता, तन्त्र र अजिमाका मन्दिरको महत्त्व कम हुँदै गएको अध्ययनका क्रममा पाइएको उनी बताउँछन् । मातृसत्ताको परम्परा रहँदासम्म बच्चा जन्मिँदा अजिमा देवीको मन्दिरमा पूजा गर्ने गरिन्थ्यो । तर पितृसत्ता हाबी हुँदै गएपछि सुतक बार्न थालियो, पन्त भन्छन् ।
यो वृत्तचित्र बनाउने क्रममा गरिएको अध्ययनमा रजस्वला बन्द हुने वेलाको रगतलाई पवित्र मान्ने गरेको पाइएको उनी सुनाउँछन् । आमाको पहिलो दूध पहिला अजिमालाई चढाउने गरिन्थ्यो, रजस्वला बन्द हुने वेलाको रगत पनि पवित्र मानेर चढाइथ्यो। पितृसत्ता हाबी भएपछि रजस्वला अपवित्र भएर घामबाट लुकाउनेदेखि छाउपढीमा राख्ने चलन स्थापित भयो, उनी भन्छन् ।
लिच्छविहरू काठमाडौं आएपछि पनि अजिमालाई विशेष स्थान दिइएको पाइने उनी बताउँछन् । पहिलो पटक भक्तपुरमा राज्य बसाएपछि लिच्छविहरूले वरपर अजिमाको मन्दिर बनाएका थिए । पाटनमा पनि दश महाविद्या भनेर १० वटा देवीको स्थापना गरिएको उनको भनाइ छ । काठमाडौंको पुरानो बस्ती वरिपरि पनि अजिमाका मन्दिर थिए । जसलाई अहिले पनि मातृका, नरदेवी, भद्रकाली, कंगी, पाली, ज्ञानेश्वरी, पञ्चकुमारी, नीलबारही लगायत नाम चिनिने गरेको पन्तले वृतचित्रमा देखाएका छन् ।
तन्त्र परम्परामा जस्तो हिन्दू र बौद्ध धर्ममा नारीलाई स्थान नदिइएको वृत्तचित्रमा उल्लेख छ । यससँगै मनुस्मृतिमा त नारीलाई दोस्रो दर्जामा राखिएको विषय पनि समेटिएको छ । हिन्दू र बौद्ध धर्ममा नारी यौनाङ्गलाई घृणाका रुपमा हेरिने गरेको भए पनि तन्त्र परम्परामा भने पूजिने गरेको वृत्तचित्रले देखाउँछ । तन्त्र परम्परामा यौनाङ्गको आकृतिलाई पूजा गर्ने चलन पाइन्छ, पन्त भन्छन्, यस्ता आकृति जहाँ देखिन्छन्, तान्त्रिक मन्दिर भनेर मान्नुपर्छ ।
मातृसत्ता र पितृसत्ताको भेद
दुई प्रमुख पितृसत्तात्मक परम्परा छन् । एक सन्यासीहरूको श्रवण परम्परा र अर्को, पुरोहितहरूको ब्राह्मण परम्परा । तेस्रो तर कम अन्वेषण गरिएको परम्परा पनि छ, मातृसत्तात्मक परम्परा ।
मातृसत्ता र पितृसत्ताको आध्यात्मिक र धार्मिक परम्पराबीचको भिन्नता गहिरो रहेको निर्देशक पन्तको बुझाइ छ । पितृसत्तात्मक अभ्यासहरू सामान्यतया पुरुष देवतामा केन्द्रित हुन्छन् । यीनले सत्यलाई कट्टर रूपमा मान्छन् र विशेष गरी महिला र यौनिक अल्पसंख्यकको यौनिकतालाई दबाउँछन्, उनको विश्लेषण छ ।
पितृसत्ताले महिलाको शरीरलाई अपवित्र, असुद्ध मान्दै पुरुषले मात्र मोक्ष पाउने ठान्छ । महिला र तेस्रो लिंगीले मोक्ष पाउन कठिन र असम्भवप्राय भन्छ । पितृसत्ता भित्रको ब्राह्मण अझ कठोर देखिन्छ। यसले व्यक्तिलाई इन्द्रीय सुखबाट टाढा राख्नुपर्छ भन्छ ।
यसको विपरीत मातृसत्तात्मक आध्यात्मिकता प्रायः महिला वा स्त्री देवतामा आधारित छ । यसले मानव यौनिकतालाई स्विकार्छ र आन्तरिक अशुद्धिहरू हटाउन इन्द्रीय सुखलाई अँगाल्छ । यस्तै, महिलाको यौनिकतालाई स्विकार्छ र महिलालाई सकारात्मक भूमिकामा राख्छ, तन्त्र परम्पराले । मन्दिरको टुँडालमा कुँदिएका सम्भोगका आकृतिले नै लैङ्गिक पहिचानलाई समानाता दिएको रुपमा अथ्र्याउँछन् उनी ।
अजिमा वृतचित्रमा पनि काठमाडौं उपत्यकाका मन्दिरमा राखिएका आकृतिलाई देखाइएको छ । जहाँ सबै लिङ्गीमा समानता देखिन्छ । यसको उदाहरण इन्द्रचोकको गणेश मन्दिर हो । यो मन्दिरका गणहरूबारे उल्लेख गर्दै पन्त भन्छन्, उपत्यकाका पुराना मूर्तिहरूलाई हेर्दा पनि परपूर्वकालमा सबै लिङ्गीलाई स्विकार गरिएको पाउँछौं । त्यतिवेला यौनिकता दबाइएको छैन तर अहिले समस्याग्रस्त स्थिति छ ।
त्यस्तै, वृतचित्रमा मन्दिरका गजुरको आकृति कसरी मातृसत्ताबाट पित्तृसत्ता झल्किने गरी रुपान्तरण भयो भन्ने देखाइएको छ । पुरानो मन्दिरको संरचनामा गजुरको लाम्चो आकृति हुने गर्दथ्यो । अहिले पनि पुराना तान्त्रिक मन्दिरमा गोलाकार त्रिकोण आकृतिको गजुर हुन्छ । पितृसत्ता हाबी हुँदै गएपछि चर्तुभुज वा सिलिन्डर आकारको लाम्चो आकृतिको गजुर राखिन थाल्यो । मन्दिरका गजुरसँगै मानव व्यवहारमा पनि महिलाको अस्तित्वको कुनै स्थान नै छैन भन्ने मान्यता हाबी हुन थाल्यो । त्योसँगै अन्य लैङ्गिताले स्थान पाउनै छाड्यो, पन्त भन्छन् ।
निष्कर्ष – अजिमाबारे अनुसन्धान आवश्यक
वृत्तचित्रको विशेष प्रदर्शनीपछि अजिमा र लैङ्गिताबारे बहस पनि गरिएको छ । त्यसक्रममा निर्देशक पन्त अजिमा र तन्त्र परम्पराबारे आफूले सक्दो खोजी गरेको बताउँछन् । अझै अध्ययन अनुसन्धान आवश्यक रहेको औल्याउँदै अजिमा मन्दिरहरू पूजास्थल मात्र नभई शहरका संरक्षकका रूपमा पनि लिइने गरिएको उनको भनाइ छ ।
लेखक एवं विश्लेषक आहुती नेपाली इतिहासमा जतिजति विगतमा फर्कियो, महिला तथा अन्य लिङ्गीका लागि समाज खुकुलो रहेको पाइने बताउँछन् । श्रुति परम्परामा मात्र पुग्यौं भने पनि शास्त्र परम्पराभन्दा हजारौं गुणा खुकुलो समाज थियो, आहुती मातृसत्ताको ठाउँमा मातृप्रधान शब्दको चयन गर्दै भन्छन्, खासमा मातृप्रधान समाज उत्पादक शक्तिको विकाससँग सम्बन्धित छ। अब यो तरिकाले पनि थप अध्ययन गरिनुपर्छ र अझ प्रमाणहरू भेटिन सक्छन ।
अध्यता एवं राजनीतिज्ञ विमला राई पौड्याल लैङ्गिकताका विषयमा समाज संकूचित बन्दै गएको बताउँछिन्। आजको समाजले महिला र लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई अछुत जस्तै मान्ने गरेको उल्लेख गर्दै पौड्याल भन्छिन्, जुन गर्भ र योनीबाट आज कोही मानिस भयो । त्यसैलाई अपवित्र मान्छ । लैगिंकताका सवालमा समाज झनझन साधुरो बन्दै गएको उनको भनाइ छ ।
अजिमाका निर्देशक पन्त तन्त्र परम्परा आजका लागि पनि अनुकरणीय भएको बताउँछन् । जात, लिंग वा अन्य कुनै पनि आधारमा अपमान र हेला नगरिएको समय नै उत्तम रहेको उल्लेख गर्दै त्यही तन्त्र परम्परालाई उजागर गर्न वृत्तचित्र बनाएको बताउँछन् ।