
काठमाडौँ । भारतका प्रसिद्ध धर्मगुरु कालीदास बाबा (स्वामी १००८ कृष्णानन्द जी महाराज)ले नेपालका नेताहरूले पशुपतिमा गएर चन्दन लगाउने र संसद्मा गएर धर्मनिरपेक्षताको माग गर्नु अस्वाभाविक भएको बताएका छन् । मंगलबार पत्रकार सम्मेलन गर्दै उनले नेताहरू आफूलाई भेट्न पशुपति कोटीहोममा गएर चन्दन लगाएको उल्लेख गरे ।
उनले चन्दन लगाएर संसद्मा जाने अनि धर्मनिरपेक्षताको माग गर्ने भूल नगर्न अनुरोध गरेको जानकारी दिए । उनले भने, पशुपतिमा धेरै नेता वा सांसदहरू आउनुभयो । मैले उहाँहरूलाई यहाँ आएर चन्दन लगाएर संसद्मा गएर धर्मनिरपेक्षताको माग गर्ने भूल नगर्न अनुरोध गरेको छु । उनले अहिले नेपालमा विभिन्न अनैतिक काम र भ्रष्टाचार भइरहेको कारण राष्ट्र जर्जरको अवस्थामा रहेको बताए ।
नेपाललाई हिन्दु राष्ट्र कायम गर्नका लागि अन्तिम साससम्म लड्ने उनको प्रतिवद्धता छ । उनले भने,‘आज राष्ट्रमा विभिन्न अनैतिक, दुराचार र भ्रष्टाचार भइरहेको छ । नेपाल राष्ट्र जर्जर भएको अवस्था छ । आज देशका नेताहरू धर्मनिरपेक्षता चाहिन्छ भनेर लागिपरिहेका छन् ।
मेरो पहिले पनि ‘नेपाल आमा के भन्छिन्, हिन्दु राष्ट्र ले भन्छिन्, धर्म निरपेक्षता चाहिँदैन, गाई काट्न पाइँदैन’ भन्ने नारा थियो । त्यो नारा आज पनि मजबुत छ । जबसम्म नेताहरूले हिन्दु राष्ट्र घोषणा फेरि गर्नुहुन्न तबसम्म एक थोपा रगत रहेसम्म कालिबाबा नेपाललाई छाड्ने छैन । उनले आफूले हिन्दु गणतन्त्र नचाहेर हिन्दु वैदिक सनातन धर्म नै चाहिएको भन्दै त्यो नभए शन्तिपूणर् आन्दोलनमा समेत उत्रिने चेतावनी दिएका छन् ।