राजकुमारको ‘हरेक पल’ले मनायो रजत महोत्सव


काठमाडौं । पछिल्लो समय दर्शकमाझ अत्यन्त लोकप्रिय भैरहेको टेलिश्रृंखला हो ‘हरेक पल’ । डि एण्ड डी इन्टरटेन्मेन्ट यूट्युब च्यानलबाट हरेक बिहीवार साँझ ७ बजेदेखि प्रसारणमा आउने यो टेलिश्रृंखलाले बिहीबार प्रसारणको २५ भाग पूरा गर्दै रजत महोत्सव मनाएको छ । यो लोकप्रिय टेलिश्रृंखला सामाजिक विषयवस्तुका साथै चेतनामूलक विषयवस्तु चित्रण गर्दै आइरहेको लोकप्रिय हास्य कलाकार तथा यो श्रृंखलाका निर्माता राजकुमार देवकोटाले बताउनुभएको छ ।

आफूले निर्माण गरेको टेलिश्रृंखलाले २५औँ श्रृंखलासम्म आइपुग्दा दर्शकबाट अपार माया पाएकोमा खुशी व्यक्त गर्दै निर्माता देवकोटाले आगामी दिनमासमेत दर्शकबाट साथ, समर्थन र माया पाउने आशा गर्नुभएको छ । समसामयिक विषयवस्तुमा आधारित टेलिश्रृंखला ‘हरेक पल’ को निर्देशन सुरेन्द्र थापाले गर्नुभएको हो । यो श्रृंखलामा बेगम नेपाली, राजकुमार देवकोटा, सन्तोष न्यौपाने, सरु दाहाल, सुरेन्द्र थापा, आयुष्मा कार्की, बिनोद परियार, बेगम पुन मंगा, सुदर्शन खतिवडा, मोहन लामा, सुमन पौडेल आदि कलाकारले अभिनय गर्नुभएको छ ।

यो श्रृंखलामा बाल कलाकारहरु संस्कृति नेपाली तथा समर्पण खतिवडाले पनि अभिनय गर्नुभएको छ । डि एण्ड डी इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भैरहेको यो टेलिश्रृंखलामा निर्देशक सुरेन्द्र थापाकै लेखन रहेको छ । रविन्द्र खड्काको सम्पादन तथा कलर ग्रेडिङ रहेको यो श्रृंखलाका छायांकार ज्ञान कुमार कट्टेल हुनुहुन्छ । श्रृंखलामा सञ्जय श्रीपालको शब्द तथा संगीतमा तयार भएको गीतमा गोविन्द मधुर आचार्य तथा बीना भट्टराईको स्वर सुन्न सकिन्छ ।

‘हरेक पल’का कलाकार तथा निर्माता राजकुमार देवकोटाले हास्य टेलिश्रृंखला ‘झुयाईँ कुटी झ्याईँ’ तथा ‘हर्के हल्दार’मा शसक्त अभिनय गर्दै आफ्नो अभिनय यात्रा प्रारम्भ गर्नुभएको थियो । त्यसपछि उहाँ आफैंले निर्माण गरेको टेलिश्रृंखला ‘रिसानी माफ’मा उहाँ हिराकाजीको भूमिका निर्वाह गरेर दर्शकमाझ स्थापित हुनुभयो । अहिले उहाँ ‘गाह्रो छ हो’ शीर्षकको टेलिश्रृंखलामा पनि व्यस्त हुनुहुन्छ, जसमा उहाँले टिकारामको भूमिका निर्वाह गर्नुभएको छ । ‘अभिनय र निर्माणको क्रममा हासिल गरेको अनुभवहरुका आधारमा अहिले ‘हरेक पल’ शीर्षकको टेलिश्रृंखला तयार पारिरहेका छौँ ।’ कलाकार तथा निर्माता देवकोटाले भन्नुभयो ।


सम्बन्धित खवर