
काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ । दिउँसो १ बजेका लागि बोलाइएको बैठक संसद भवन नयाँबानेश्वरमा बस्नेछ ।बैठकमा सांसदहरुले शून्य, आकस्मिक र विशेष समयमा समसामयिक विषयमा आ-आफ्नो धारणा राख्नेछन् । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट ‘राष्ट्रिय मानवअधिकार आयोगको २३औँ वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७९-०८०’ पेश गर्ने कार्यसूची रहेको छ ।
यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सोविता गौतमले ‘हवाई क्षेत्रसँग सम्बन्धित अन्तर्राष्ट्रिय सङ्गठनहरूले नेपालका हवाई उड्डयन क्षेत्रलाई असुरक्षित भनिरहेको, हवाई दुर्घटनाहरूले एयरलाइन्स र हवाई यातायात उद्योगको छवि र विश्वासमा समेत असर परेको हुँदा तत्काल सुधारात्मक कदम चाली विश्वसनियता बढाउन आवश्यक भएकोले’ भन्ने विषयको जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।
बैठकमा सभामुख देवराज घिमिरेले तत्कालीन संविधानसभा सदस्य श्रवण कुमार अग्रवालको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । अग्रवालको गत साउन २१ गते निधन भएको थियो । उहाँ जनता समाजवादी पार्टी, नेपालका तर्फबाट २०६४ र २०७० सालको संविधानसभा निर्वाचनको समानुपातिक सांसद हुनुहुन्थ्यो ।
यता संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दैछ । बैठक दिउँसो सवा १ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ । आजको बैठकमा विधायन व्यवस्थापन समितिकी सभापति जयन्तीदेवी राईले ‘विधायन व्यवस्थापन समितिको वार्षिक प्रतिवेदन २०८०-८१’ सभासमक्ष पेस गर्ने कार्यसूची छ । यस्तै, कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले ‘नेपाल कानून व्यवसायी परिषद (दोस्रो संशोधन) विधेयक, २०८१ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव सभा समक्ष प्रस्तुत गर्नुहुनेछ ।