
काठमाडौं । सरकारको मुख्यसचिवमा एकनारायण अर्याल नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गृहसचिव अर्याललाई मुख्यसचिवमा नियुक्त गरेको एक मन्त्रीले बताए । मुख्यसचिव लीलादेवी गड्तौलाले अनिवार्य अवसकास पाउने भएपछि सरकारले अर्याललाई मुख्यसचिवमा नियुक्त गरेको हो । मुख्यसचिव गड्तौला भदौ १५ गतेदेखि अनिवार्य अवकासमा जाँदैछिन् ।
सरकारले गत साउन १० गते गड्तौलालाई मुख्यसचिवमा नियुक्त गरेको थियो । मुख्यसचिव अर्याल विसं २०४६ माघ ४ गते निजामती सेवामा प्रवेश गरेका थिए । उनले नायब सुब्बाबाट सरकारी सेवामा प्रवेश गरेका हुन् । विसं २०५१ फागुन ४ गते शाखा अधिकृत नियुक्त भएका अर्याल २०५८ माघ ६ गते उपसचिव भएका थिए ।
त्यसपछि उनी २०६७ फागुन १९ गते सहसचिव र २०७६ फागुन १८ गते सचिवमा नियुक्त भएका थिए । अहिलेसम्म उनले निजामती सेवामा ३४ वर्ष ७ महिना ९ दिन बिताइसकेका छन् । अर्याल यसअघि मकवानपुर, काठमाडौं र तनहुँको प्रमुख जिल्ला अधिकारी भइसकेका छन् । उनले गृह मन्त्रालयमा सहसचिवको रूपमा रहँदा गृह प्रशासन सुधार, योजना निर्माण र त्यसको कार्यान्यवनमा महत्त्वपूणर् योगदान गरेका थिए ।