
पोखरा । गण्डकी प्रदेशका मन्त्री राजिव गुरुङ उर्फ दीपक मनाङेले राजीनामा दिएका छन् । मन्त्री मनाङेले मन्त्री परिषद् पुनर्गठनप्रति असन्तुष्टि जनाउँदै राजीनामा दिएका हुन् । गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार दिउँसो मात्र मन्त्री परिषद् पुर्नगठन गरेका थिए । उनले सत्ता साझेदार एमालेलाई ४ मन्त्रालय दिएर सरकारमा सहभागी गराएका हुन् । मुख्यमन्त्री पाण्डेले मन्त्री मनाङेले सम्हाल्दै आएको भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्रालय एमालेलाई दिएपछि उनी असन्तुष्ट बनेका थिए ।
एमाले मन्त्रीहरूको शपथग्रहण कार्यक्रममा मन्त्रीहरूको कार्य विभाजन घोषणा भएलगत्तै सोही कार्यक्रममा सहभागी मन्त्री मनाङेले असन्तुष्टि जनाएका थिए । भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्रालय खोसेर वन तथा वातावरण मन्त्रालयमा सीमित गरेको थाहा पाएलगत्तै उनले पत्रकारहरूसमक्ष भनेका थिए, यस्तो मन्त्रालय जुनियरहरुलाई दिने हो, म अब राजीनामा दिन्छु ।
त्यति भनेर शपथग्रहण स्थलबाट रिसाएर निस्केका उनले लगत्तै राजीनामा दिएको मन्त्री मनाङेका राजनीतिक सल्लाहकार शैलेन्द्र रावतले जानकारी दिए । उनका अनुसार मन्त्री मनाङेको राजीनामा पत्र मुख्यमन्त्रीलाई बुझाउन भने बाँकी छ । मन्त्रीका स्वकीय सचिव सन्तोष अधिकारीले राजीनामा पत्र मुख्यमन्त्रीलाई बुझाउन खोज्दा मुख्यमन्त्रीले समय नदिएको उनको भनाई छ ।
सचिवालयमा दर्ता गराउन खोज्दा मुख्यमन्त्रीलाई बुझाउनु भन्नु भएछ, उनले भने, मुख्यमन्त्रीसँग भेट हुन सकेको छैन । भेट हुने बित्तिकै राजीनामा पत्र बुझाउनेछौँ । मन्त्री मनाङेले भने आफूलाई अल्छी लागेकाले राजीनामा दिएको बताएका छन् । अब सरकार जान्न, उनले भने, कति खाने मन्त्री, अब रेष्ट गर्छु । उनले आफूलाई दिएको मन्त्रालयमा बजेट नै नहुने भएकाले मन्त्री हुनुको अर्थ नभएकोसमेत बताए ।