
काठमाडौं । काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरण गरिएको छ । खानेपानीमन्त्री प्रदीप यादवले मंगलबार काठमाडौंको सुन्दरीजलमा रहेको मेलम्चीको पानी प्रसोधन केन्द्रबाट उपत्यकाका नागरिकका लागि पानी वितरण कार्यक्रमको शुभारम्भ गरेका हुन् । सुन्दरीजलमा रहेको पानी प्रसोधन केन्द्रबाट मेलम्चीको पानी खोलीएसँगै अहिले काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का विभिन्न पानी वितरण शाखामा पानी पठाइएको र ती शाखाहरूबाट पानी वितरण प्रक्रिया सुरु गरिने मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्नप्रशाद लामिछानेले बताए ।
मन्त्रीज्यू र मेलम्ची संघर्ष समितिबीच सोमबार राति अबेरसम्म पानी पठाउने विषयमा बसेको वार्ता सफल भएपछि सुन्दरीजलमा पानी पथान्तरण गरेका थियौं । अहिले यहाँबाट केयुकेएलका विभिन्न पानी वितरण शाखामा पठाइएको छ, उनले भने । मेलम्चीको पानी अहिले काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) मा आइसकेकाले अब काठमाडौं उपत्यकाबासीका धारा-धारामा पानी वितरण सुरु गरिने काठमाडौं उपत्यका खानेपानी लिमिटेडका प्रमुख कार्यकारी निर्देशक अशोक पौडेलले जानकारी दिए। उनले भने, मेलम्चीको सफा अनि शुद्ध पानी आइपुगेको छ । अब केही समयमै नागरिकका धारा धारामा पठाउछौं ।
खानेपानी मन्त्री यादव र मेलम्ची संघर्ष समितिबीच सोमबार राति भएको बार्तामा काठमाडौंमा पानी लैजाने विषयमा सहमति भएपछि आज मेलम्चीको पानी सुन्दरीजलमा ल्याइएको थियो । दसैं अगाडि काठमाडौंबासीलाई मेलम्चीको पानी उपलब्ध गराउने प्रतिबद्धता जनाएका मन्त्री यादवसहितको टोली वार्ताका लागि सोमबार राति मेलम्ची पुगेर त्यहाँका संघर्ष समितिसँग वार्ता गरेको थियो । वार्तापछि बाढी पीडित संघर्ष समितिबाट आन्दोलनका सबै कार्यक्रम हाललाई स्थगन गर्ने र काठमाडौं उपत्यकामा पानी पथान्तरण गर्नको लागि मेलम्ची खानेपानी विकास समितिलाई सहयोग गर्ने सहमति भएको थियो । मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी आपूर्ति हुने गरेको छ ।