
काठमाडौँ । नेपाली समलिङ्गी पुरुष प्रजित बुढाथोकी र अमेरिकी समलिङ्गी पुरुष जोसेफ फोस्टर एलिसले नेपालको धर्म, संस्कृति एवं परम्परा अनुसार ऐतिहासिक वैवाहिक समारोह गरेका छन् । सुनसरीको धरान उपमहानगरपालिका वडा नं. ११ को कार्यालयमा कानुनी रूपमा विवाह दर्ताको प्रमाणपत्र पाएका प्रजित र जोसेफले वैवाहिक समारोह गरेका हुन् । विवाहले कानुनी मान्यता पाए पछि दुवैले वैवाहिक समारोह गरेका हुन् ।
नेपालको वैवाहिक परम्परा अनुसार नै पण्डित शिवराज रेग्मी र शिव सत्यालले दुबैलाई जग्गेमा बसाले । होमहोमादी गराए । विवाह मण्डप घुमाए । दुवैले एकअर्कालाई माला र टीका लगाइदिए । विधि पुर्याएर दुवैलाई आर्सीवाद दिए । नेपाली समलिङ्गी, तेस्रो लिङ्गी जोडीको यसअघि पुरुष र महिलाको जस्तै विधि पुर्याएर वैवाहिक समारोह भए पनि नेपाली र अमेरिकी समलिङ्गी जोडीको यो नै पहिलो औपचारिक वैवाहिक समारोह हो ।
अमेरिकी समलिङ्गी पुरुष हुन जोसेफ । कानुनी रूपमा प्रमाणपत्र पाएका जोसेफको चाहना नेपाली परम्परा अनुसार विवाह गर्ने थियो । त्यसको चाँजोपाँजो मिलाइदिए एसियाकै पहिलो समलिङ्गी सभासद् सुनिलबाबु पन्तले । पन्तले अभिभावकको भूमिका निभाए। पन्त इन्द्रेणी पर्यटन प्रवर्द्धनका लागि सांस्कृतिक राजदूत एवं मायाको पहिचान नेपालका कार्यकारी निर्देशक समेत हुन् । पन्तको पहलमा दक्षिण एसियामा पहिलो र एसियाको दोस्रो समलिङ्गी विवाहले कानुनी मान्यता पाइसकेको छ ।
नेपाली समलिङ्गी पुरुषको अमेरिकी समलिङ्गी पुरुषसँग विवाह दर्ता
पन्तले नेपाल सरकारविरुद्ध दायर गरेको रिटमा सर्वोच्च अदालतले २०६४ पुस ६ (२१ डिसेम्बर,२००७)मा दिएको निर्देशनात्मक आदेश समलिङ्गी, तेस्रो लिङ्गी, अन्तरलिङ्गी नागरिकको पहिचान सहितको अधिकारका लागि ऐतिहासिक मानिन्छ । छिमेकी देश भारत सहित अमेरिका, बेलायत सहित पश्चिमा देशहरूमा २०६४ को आदेशलाई नजिरका रूपमा समेत लिने गरिएको छ ।
२०६४ कै आदेशलाई नजिरका रूपमा लिएर १२ असार २०८० मा सर्वोच्च अदालतले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको विवाह दर्ता गर्न अन्तरिम आदेश दिएको थियो। सर्वोच्चको आदेश र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको परिपत्र अनुसार लमजुङको दोर्दी गाउँपालिका कार्यालयमा माया गुरुङ्ग र सुरेन्द्र पाण्डेले १३ मङ्सिर २०८० मा कानुनी रूपमा विवाह दर्ता गरेका थिए ।
समलिङ्गी विवाह दर्तासँगै पन्तको नेतृत्वमा मायाको पहिचान नेपालले नेपालमा पहिलो पटक इन्द्रेणी पर्यटन अन्तर्राष्ट्रिय पर्यटन सम्मेलन आयोजना गरेको थियो । सम्मेलनले नेपाल यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक नागरिकका लागि सुरक्षित देश भएको सन्देश प्रवाह गरेको थियो ।
इन्द्रेणी पर्यटन प्रवर्द्धनका लागि प्रजित र जोसेफको जस्तो वैवाहिक समारोह आयोजना हुनुले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक नागरिक नेपालमा सुरक्षित र सम्मानित रहेको सन्देश जाने पन्तले विश्वास गरे। यस्ता वैवाहिक समारोह आयोजनाबाट विदेशी मुद्रा आर्जन गर्न सकिने उनले बताए । पन्तले प्रजित र जोसेफलाई बधाई तथा शुभकामना दिए । पण्डितद्धयले पहिलो पटक यस्तो विवाह गराएको बताए । विवाह दुई आत्माको मिलन हो, जुन अटुट रहन्छ, पण्डित शिवराज रेग्मीले भने, यो ऐतिहासिक विवाह हो, यस्तो विवाह पहिलो पल्ट गराउने अवसर पाए ।