काठमाडौं । बाढीपहिरोले क्षतिग्रस्त भई अवरुद्ध रहेको बीपी राजमार्ग शुक्रबारदेखि सञ्चालनमा आएपनि सुख्खा पहिरो खसेपछि पुनः अवरुद्ध भएको छ । शुक्रबार राजमार्गको रोशी गाउँपालिका-११ बुलढुङ्गामा सुख्खा पहिरो जाँदा सुमो र बसमा क्षति पुगेको प्रहरीले जनाएको छ । राजमार्ग शुक्रबार बिहानबाट एकतर्फी सुचारु भएकोमा पुनः अवरुद्ध भएको छ ।
यस्तै, सुख्खा पहिरोले बाटो खुलाउन प्रयोग गरिएको एउटा जेसीबीमा पनि क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेकाअनुसार सिन्धुलीबाट काठमाडौंतर्फ आउँदै गरेको बा ४ ख ४३५२ नम्बरको बसलाई पहिरोले रोशी खोलामा खसालेको छ । त्यस्तै, खोटाङबाट काठमाण्डौंतर्फ आउँदै गरेको ना १ ज ६८१७ नम्बरको सुमोलाई पहिरोले पुरेको प्रहरीले जनाएको छ । घटनामा मानवीय क्षति भने नभएको प्रहरीको जनाएको छ ।
काभ्रे प्रहरीले एक सूचना जारी गर्दै राजमार्गअन्तर्गत नमोबुद्ध तेमाल हुँदै मंगलटार जाने कच्ची सडक खण्ड र रोशी गापा-११ पिप्लेस्थित बीपी राजमार्गमा पुनः सुख्खा पहिरो झरिरहेकाले तत्काल दुईतर्फी सडक अवरोध भएकाले यात्रा नगर्न अनुरोध गरेको छ । गत असोज ११ र १२ गतेको बाढीपहिरोले काठमाडौं उपत्यकालाई पूर्वी नेपालसँग जोड्ने छोटो स्थल मार्गका रूपमा रहेको राजमार्ग अवरुद्ध भएको थियो । बाढीपहिरोले राजमार्गको विभिन्न ठाउँमा गरी करिब १२ किलोमिटरसम्म क्षति पुर्याएको थियो ।