
काठमाडौं । नेकपा (एमाले) ले काठमाडौं, कीर्तिपुर-२ स्थित मैत्री नगरमा केन्द्रीय कार्यालय शिलान्यास गरेको छ । कीर्तिपुर नगरपालिका-२, मैत्रीनगरस्थित एमाले केन्द्रीय कार्यालय भवनको आज प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले शिलान्यास गरेका हुन् । एमाले केन्द्रीय सचिवालयको बैठकले नयाँ कार्यालय भवन शिलान्यास गर्ने निणर्य गरेको थियो ।
२०७२ सालको भूकम्पले बल्खुस्थित कार्यालय भवनमा क्षति पुगेपछि एमालेले बबरमहलमा कार्यालय सारेको थियो । त्यसपश्चात ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा केन्द्रीय कार्यालय स्थापना गरेको हो । हाल केन्द्रीय कार्यालय रहेको ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्टानमा बाढीले क्षति पुर्याएपछि मैत्रीनगरमा एमालेले नयाँ कार्यालय भवन बनाउन लागेको हो ।
भटभटेनीका सञ्चालक व्यवसायी मीनबहादुर गुरुङ र सावित्री गुरुङबाट दान गरिएको १० रोपनी १४ आना जग्गामा अत्याधुनिक भवन बन्ने एमालेका महासचिव शंकर पोखरेलले जानकारी दिए । उनले भवनको लागत र विस्तृत पक्ष तर्जुमाको क्रममा रहेको जनाए । सञ्चारकर्मीको जिज्ञासामा गुरुङले आफूले अन्य पार्टीलाई पनि सहयोग गर्दै आएको एमालेलाई सहयोग गर्न पाउनु एक अवसर भएको बताए । एक वर्षभित्र भवन बनाएर आउने घटस्थापनाका दिन एमालेलाई हस्तान्तरण गर्ने गुरुङले जानकारी दिए ।