रवि लामिछाने पक्राउ, अब सांसद पद के हुन्छ ?


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ पर्नुभएको छ । उहाँलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले पार्टी कार्यालय बनस्थलीबाट पक्राउ गरेको हो । आज कास्की जिल्ला अदालतले लामिछानेविरूद्व पक्राउ पुर्जी जारी गरेको थियो । लामिछानेलाई आजै कास्की लगिने छ ।

सहकारी ठगी छानबिन समितिले सहकारी ठगी गरेर गोर्खा मिडिया नेटवर्कमा ल्याएको रकम खर्च गर्नमा लामिछाने दोषी रहेको ठहर गरेको थियो । यता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउ परेसँगै उनको सांसद पद के हुन्छ भन्ने चासोको विषय बनेको छ ।

कुनै पनि सांसदलाई पक्राउ गरेपछि सभामुखलाई जानकारी गराउनु पर्ने प्रावधानअनुसार प्रहरीले सभामुख देवराज घिमिरेलाई पक्राउबारे जानकारी दिइसकेको छ । पक्राउ पर्ने वित्तिकै लामिछानको पद भने जाँदैन । प्रतिनिधिसभा नियमावलीको नियम २२५ मा प्रतिनिधिसभा सदस्यको पक्राउ र सांसद पद निलम्बन हुने सम्बन्धी व्यवस्था छ ।

नियमावली २२५ को उपनियम ३ मा प्रचलित कानुन बमोजिम तीन वर्ष वा सो भन्दा बढी बैदको सजाय हुने वा नैतिक पतन देखिने फौजदारी मुद्दामा अभियोगपत्र दायर भई पुर्पक्षको लागि थुनामा रहेको अवस्थामा थुनामा रहेको अवधिभर सांसद पद निलम्बन हुन्छ । अगाडि भनिएको छ, अदालतको आदेश बमोजिम पुर्पक्षको लागि थुनामा बस्नु पर्नेमा त्यस्तो थुनामा नबसी फरार रहेको अवधिभर निज निलम्बनमा रहनेछ ।’

यो व्यवस्था अनुसार लामिछाने धरौटीमा छुटे भने सांसद पद निलम्बनमा पर्ने छैन । यदि अदालतले लामिछानेलाई पुर्पक्षको लागि थुनामा राख्न आदेश दिए सोही दिनदेखि लामिछानेको सांसद पद स्वतः निलम्बनमा पर्नेछ ।


सम्बन्धित खवर